नेपालमा बिक्री हुने प्रत्येक उपभोक्ता सामग्रीमा अधिकतम खुद्रा मूल्य (MRP) उल्लेख गर्नु अनिवार्य कानुनी प्रावधान हो। उपभोक्ता संरक्षण ऐन अनुसार कुनै पनि वस्तु उपभोक्तासमक्ष पठाउँदा त्यसको मूल्य, उत्पादन मिति, समाप्ति मिति र अन्य आवश्यक जानकारी प्रस्ट रुपमा उल्लेख गरिएको हुनुपर्नेछ। तर, व्यवहारमा बजारमा पाइने थुप्रै सामानमा MRP लेखिएको नै हुँदैन, वा लेखिएको भए पनि अस्पष्ट, झुटो वा उपभोक्ता भ्रममा पार्ने गरी उल्लेख गरिएको देखिन्छ।
विशेषगरी, भारतबाट आयात भएका सामग्रीहरूमा लेखिएको मूल्यमा झूटो विवरण रहेको भन्ने गम्भीर आशंका बढ्दो छ। यस्ता सामानमा “Rs.” लेखिएको पाइन्छ — जुन देख्दा नेपाली उपभोक्ताले यो नेपाली रुपैयाँमा लेखिएको मूल्य हो भन्ने बुझ्न सक्छन्। तर भारतमा अहिले “Rs.” हैन, आधिकारिक रूपमा ₹ (इन्डियन रुपी सिम्बोल) प्रयोग गरिन्छ। त्यसैले भारतमै बिक्रीका लागि तोकिएको वस्तुमा अझै पनि “Rs.” लेखिएको हुनु आफैमा शंकास्पद देखिन्छ।
यसबाट यस्तो बुझ्न सकिन्छ कि केही आयातकर्ताले कम भन्सार शुल्क तिर्नका लागि जानाजान वस्तुमा “Rs.” लेखाई नेपाली रुपैयाँ देखिने बनाइ मूल्य कम देखाइरहेका छन्। यस्तो प्रवृत्तिले नेपाली बजारमा मूल्य पारदर्शितामा प्रश्न उठाउनुका साथै सिधा उपभोक्ताको अधिकारमाथि ठगी भइरहेको स्पष्ट संकेत गर्छ।
बजारका ठूला खुद्रा विक्रेता — जस्तै बिगमार्ट वा भाटभटेनी जस्ता ठूला नेटवर्कमा समेत यस्तै समस्या देखिनु झन् चिन्ताजनक विषय हो। एउटै सामानमा MRP लेखिए तापनि त्यसको मूल्य उपभोक्तासँग फरक-फरक गरिने, वा भारतीय भन्दै सोही मूल्यमा दोब्बर रकम असुलिनेजस्ता घटना पनि देखिन्छन्।
तर, यस विषयमा न उपभोक्ता हित संरक्षण निकायहरू ले चासो देखाएका छन्, न त कुनै सरकारी तहबाट सामाजिक सचेतना अभिवृद्धि कार्यक्रम नै सञ्चालन गरिएको छ। बजारमा मूल्य सम्बन्धी झूटो विवरण र अन्योल हटाउन, र उपभोक्तालाई ठगीबाट जोगाउन सम्बन्धित निकायको सक्रियता अब ढिलो गर्न नहुने अवस्था आएको छ।