काठमाडौँ, जेठ ११ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको पर्वतीय पर्यटन क्षेत्रले आर्थिक समृद्धिको ढोका खोल्ने सम्भावना बोकेको भए पनि त्यसका लागि मन्त्रालयबीच प्रभावकारी समन्वय आवश्यक रहेको औँल्याउनुभएको छ। गणतन्त्र दिवस २०८२ को अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको “पर्वतीय पर्यटनः हाम्रो सान, हाम्रो पहिचान” शिर्षकको तस्बिर प्रदर्शनी उद्घाटन गर्दै मन्त्री पाण्डेले पर्यटन क्षेत्रले आर्थिक इञ्जिनको भूमिका निर्वाह गर्न सक्ने भए पनि अहिलेसम्म त्यसअनुसार नीति र पूर्वाधार विकास नहुनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गर्नुभयो। मन्त्री पाण्डेले नेपालको भौगोलिक र सांस्कृतिक विविधता तथा साहसिक गन्तव्यहरूको उल्लेख गर्दै “सगरमाथाबाट शिलाङ्ला हुँदै रारासम्मका गन्तव्य” विश्वस्तरमै ब्राण्ड बन्न सक्ने क्षमता भएको बताउनुभयो। तर उहाँले स्पष्ट रूपमा भने, “यस्ता अनुपम सम्पदालाई प्रचार र पूर्वाधारबिना प्रवर्द्धन सम्भव छैन। एउटा मन्त्रालयले मात्र यो जिम्मेवारी पूरा गर्न सक्दैन।” प्रदर्शनीमा समेटिएका तस्बिरहरूले पर्यटनमा सरकारको ध्यान खिच्ने गरी मौन सन्देश दिएका छन्, मन्त्री पाण्डेले बताए। “राससले फोटो प्रदर्शनीमार्फत मुलुकभित्रैका सम्भावना देखाएको छ। यस्ता कार्यले सरकारलाई प्रतिबिम्ब हेर्न सहयोग पुर्याउँछ,” उहाँले भन्नुभयो। पूर्वाधार, सुरक्षालगायतका प्रश्नमा समन्वय नगरेसम्म “पर्यटनको कल्पना पोस्टरमा मात्र सीमित हुन्छ”, भन्ने चेतावनी पनि दिनुभयो।