काठमाडौं, जेठ ८ — सामाजिक सञ्जालमा बढ्दो पहुँचसँगै ठगीको शैली पनि परिष्कृत हुँदै गएको छ। हालै काठमाडौंमा भएको घटनाले यही यथार्थ उजागर गरेको छ— जहाँ प्रेम र सम्बन्धको आवरणमा फेसबुकबाट सुरु भएको चिनजान, अन्ततः भावनात्मक शोषण र ब्ल्याकमेलिङमा परिणत भएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘हनी ट्रयाप’ शैलीमा ठगी गर्ने दुई युवतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीकी ममता तामाङ र भक्तपुरकी आचल चौगुठी रहेका छन्, जो हाल काठमाडौं-५ मा बसोबास गर्दै आइरहेका थिए।
प्रहरीका अनुसार ती युवतीहरू फेसबुकमार्फत पुरुषहरूसँग सम्बन्ध बनाउने प्रयास गर्थे। सुरुमा साधारण कुराकानी हुँदै विस्तारै अन्तरंग भेटसम्म पुर्याइन्थ्यो। नियोजित रूपमा होटल वा रिसोर्टमा बोलाई खाना र मदिराको व्यवस्था गर्दै गुप्त रूपमा आपत्तिजनक भिडियो र फोटो खिचिने गर्थ्यो।
पछि ती तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिँदै आर्थिक वा भौतिक सम्पत्ति मागिन्थ्यो। हालैको घटनामा त उनीहरूले एक व्यक्तिसँग चार आना जग्गा र पाँच लाख बराबरको चेकसमेत लिइसकेको प्रहरी अनुसन्धानले देखाएको छ।
प्रहरीले उनीहरूबाट बरामद दुई मोबाइल सेटमा रहेका डिजिटल प्रमाणहरूका आधारमा थप अनुसन्धान जारी रहेको जनाएको छ।
प्रहरी प्रवक्ता काजीकुमार आचार्यका अनुसार घटनालाई ‘हनी ट्रयाप’ को रूपमा विश्लेषण गरिएको छ — जहाँ सामाजिक सञ्जाल, झुठा प्रेम प्रस्ताव र भावनात्मक खेलका माध्यमबाट व्यक्ति मानसिक र आर्थिक रूपमा लुटिन्छन्।
उक्त गिरोहले कति व्यक्तिलाई निशाना बनायो भन्ने अझै खुल्न बाँकी छ। प्रहरीका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो समय डिजिटल माध्यमबाट हुने यस्ता अपराध तीव्र रूपमा बढ्दै गएका छन्।