धुनिवेशी— महिलाको आर्थिक सशक्तिकरण र सीपमूलक क्षमताविकासमा योगदान पुर्याउने उद्देश्यसहित युनाइटेड सिमेन्ट्स लिमिटेड र धुनिवेशी नगरपालिका वडा नं. ९ को सहकार्यमा सञ्चालित तीन महिने आधारभूत र दुई महिने एडभान्स् सिलाई-कटाई तालिम कार्यक्रमको सफल समापन तथा प्रमाणपत्र वितरण समारोह सम्पन्न भएको छ।
धुनिवेशी नपा वडा नं. ९, जुगेडीस्थित सभाहलमा आयोजित कार्यक्रममा ४२ जना स्थानीय महिलाहरूलाई तालिमको सफल सम्पन्नतापछि प्रमाणपत्र प्रदान गरियो। तालिम २०८१ मंसिर १६ गतेदेखि सुरु भई २०८२ वैशाख २२ गतेसम्म सञ्चालन गरिएको थियो।
समारोहको उद्घाटन युनाइटेड सिमेन्ट्स लिमिटेडका महाप्रबन्धक श्री हरिकुमार उप्रेतीले गर्नु भएको थियो। उहाँले आफ्नो मन्तव्यमा कम्पनीले सधैं व्यावसायिक लक्ष्यसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै यस्तो तालिमले महिलाहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै दीगो आम्दानीको बाटो खोल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका सभापति एवं वडा नं. ९ का वडाध्यक्ष श्री माधवप्रसाद सिलवालले तालिम महिलाहरूको जीवनस्तर सुधार र आर्थिक स्वतन्त्रताको दिशामा एक महत्वपूर्ण कदम भएको बताउँदै युनाइटेड सिमेन्ट्सप्रति आभार प्रकट गर्नुभयो।
प्रमुख अतिथि नगरप्रमुख श्री बालकृष्ण आचार्यले यस्ता साझेदारी कार्यक्रमहरूले स्थानीय तहको क्षमता अभिवृद्धि र सामाजिक विकासमा सघाउ पुर्याउने भन्दै आगामी दिनमा पनि यस्तो सहयोगलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
युनाइटेड सिमेन्ट्स लिमिटेडले शिक्षा, स्वास्थ्य, र सामाजिक सेवामा निरन्तर योगदान गर्दै आएको पुनः स्मरण गराउँदै भविष्यमा समेत समुदायमुखी गतिविधिमा सक्रिय रहने प्रतिबद्धता जनाएको छ।