काठमाडौं, ३१ वैशाख — नेपालमा कृषि बिमा जस्तो रणनीतिक क्षेत्रमा सैद्धान्तिक, कानुनी, र व्यावहारिक दृष्टिकोणले गहिरो विश्लेषण गर्ने पुस्तक “नेपालमा कृषि बिमा” सार्वजनिक भएको छ। डा. रविन्द्र घिमिरे, शिवसुन्दर घिमिरे, डा. गिरीप्रसाद कँडेल र सुदीप पौडेलको संयुक्त लेखनमा तयार पारिएको यो पुस्तकले नेपालमा कृषि बिमाको विकास, समस्याहरू र सम्भावनालाई बहुआयामिक ढंगले उजागर गरेको छ। पुस्तकको प्रकाशन बेन्चमार्क पब्लिकेशनले गरेको हो। लेखकहरूका अनुसार यो पुस्तक नीतिनिर्माता, अनुसन्धानकर्ता, बिमा व्यवसायी, प्राध्यापक र विद्यार्थी सबैका लागि समान रूपले सान्दर्भिक र उपयोगी बन्नेछ। लेखक डा. रविन्द्र घिमिरेका अनुसार पुस्तकमा कृषि बिमाको सैद्धान्तिक पृष्ठभूमि, विश्वमा चलनचल्तीमा रहेका पोलिसीहरू, र नेपालमा बिमाको विकासक्रमबारे ठोस तथ्यांकसहितको विश्लेषण गरिएको छ। लेखक सुदीप पौडेलले भने, “कृषि बिमासम्बन्धी कानुनी संरचना, सरकारी अनुदान, सूचना प्रविधिको प्रयोग, र असल अभ्यासहरूबारे पुस्तकमा विशेष चर्चा गरिएको छ। बिमा कम्पनीहरूको सक्रियता र संस्थागत सहभागितासमेत विवेचित गरिएको छ।” पुस्तकलाई १४ अध्यायमा बाँडिएको छ, जसमा नेपालको कृषिको अवलोकनदेखि सुरु गरेर जलवायु परिवर्तन, परम्परागत जोखिम व्यवस्थापन, अन्तर्राष्ट्रिय अभ्यासहरू, सूचना प्रविधिको भूमिका, र अन्त्यमा नीतिगत सुझावहरू समेत समेटिएका छन्। पुस्तकले नेपालको कृषि बिमा क्षेत्रको पूर्ण खाका कोरेको दाबी गरिएको छ — जसले नेपालजस्तो कृषि–प्रधान मुलुकमा बिमा प्रणालीलाई सुदृढ बनाउने सम्भावनामा गहिरो छलफल गरेको छ। पुस्तकले बिमा व्यवसायीहरूलाई मात्र होइन, नीति निर्माण तहमा रहेका सरकारी अधिकारी, सांसद, योजना आयोगका विश्लेषक, तथा कृषि अनुसन्धान संस्थानहरूलाई पनि मार्गदर्शन दिने क्षमता राख्छ। यथार्थमा आधारित विश्लेषण र ठोस सुझावका कारण यो पुस्तक कृषि बिमा नीतिको ढाँचा निर्माणमा टेवा पुर्याउने ठानिएको छ।