लुम्बिनी, वैशाख २९ – प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई केवल ऐतिहासिक बौद्धस्थल नभई समसामयिक विश्व संकट समाधानको आधार केन्द्रका रूपमा विकसित गर्ने सरकारको दीर्घकालीन दृष्टिकोण प्रस्तुत गर्नुभएको छ।
बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्धको शिक्षाले समय, दूरी र परिस्थितिका अवरोध पार गर्दै अझ सशक्त प्रभाव पारिरहेको उल्लेख गर्दै भन्नुभयो, “Lord Buddha’s teachings are not weakened by time—they are stronger, brighter and more necessary than ever before.”
प्रधानमन्त्रीले लुम्बिनीमा विगतमा भएको पूर्वाधार अभाव र त्यसपछिको विकास कार्यको सन्दर्भ प्रस्तुत गर्दै गुरुयोजनाअनुसारको समग्र विकासमा अब सरकार गम्भीर रुपमा लाग्ने आश्वासन दिनुभयो। उहाँले विगतमा भौतिक संरचनाको अभावमा कार्यक्रम चलाउनु परेको पीडा सुनाउँदै अब अन्तर्राष्ट्रियस्तरको पूर्वाधारसहितको बुद्ध जयन्ती २६५० को आयोजना गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो।
बुद्धको उपदेशको वैज्ञानिकता र विश्वसम्बन्धी सान्दर्भिकता उल्लेख गर्दै उहाँले भन्नुभयो, “जसरी गुरुत्वाकर्षण, प्रकाश र ध्वनि समयको दूरीसँग क्षीण हुन्छन्, बुद्धका शिक्षाले समय जितेका छन् – अझ ताजा, अझ प्रभावकारी बनेका छन्।”
उहाँले त्रिपिटकको संरक्षण र प्रचारमा लागेका भिक्षु आनन्द तथा अन्य अनुयायीप्रति श्रद्धा प्रकट गर्दै बुद्ध धर्मको ऐतिहासिक संरक्षण र वैश्विक विस्तारमा उनीहरुको भूमिका अपरिहार्य रहेको बताउनुभयो।
प्रधानमन्त्रीले शान्तिको महत्त्व अझै बढेको उल्लेख गर्दै अहिलेको हिंसा, युद्ध र अस्थिरताको परिवेशमा बुद्धको चिन्तनलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
लुम्बिनी विकास गुरुयोजना, अनुवाद सुविधाको विस्तार, लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अनुसन्धानमुखी बनाउने तथा विश्वशान्ति अभियानमा लुम्बिनीलाई केन्द्रित बनाउने योजना प्रधानमन्त्री ओलीको सम्बोधनको केन्द्रबिन्दु बने।
कार्यक्रमको समापनमा प्रधानमन्त्रीले सम्पूर्ण मानवजातिमा करुणा, भाइचारा र सहअस्तित्वको भावना फैलियोस् भन्ने कामना गर्दै बुद्ध दर्शनको अमर सन्देश विश्वभर प्रवाहित होस् भन्ने विश्वास व्यक्त गर्नुभयो –
“भवतु सब्ब मंगलम्।”
लेखकको बारेमा

प्रतिक्रिया