काठमाडौं — आगामी आर्थिक वर्षको बजेट निर्माणको पूर्वसन्ध्यामा अर्थमन्त्री विष्णु पौडेलले अघिल्ला बजेटहरूले सिर्जना गरेको विनियोजन र कार्यान्वयनबीचको खाडललाई अब पुर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित पूर्वबजेट छलफल कार्यक्रममा मन्त्री पौडेलले ‘खाल्डो खनेर होइन, पुरेर’ अघि बढ्ने रणनीतिको पक्षमा आफू रहेको स्पष्ट पारे। “हामीले सात हजार योजना बनाउने भन्दै ११ हजार योजना थप्यौं,” उनले कटाक्ष गर्दै भने, “त्यस्तो विनियोजन संसारमै बिरलै होला, तर कार्यान्वयनको हिसाबले अझै उत्कृष्ट बनाउनु पर्ने छ।”
उनले विगतमा आकर्षक भाषामा बजेट लेखिए पनि कार्यान्वयन कमजोर भएको स्वीकार गरे। “अहिलेको काम अर्थमन्त्री भएर नयाँ खाल्डो खन्ने होइन, अघिल्ला खाल्डोहरू पुर्ने हो,” उनले भनाइ थपे।
पौडेलले संविधानको सीमाभित्र रहेर बजेट निर्माण गर्नु अहिलेको चुनौती भएको बताए। “हामीले आफैंले अधिकारहरूको सूची बनायौं, अब त्यही सीमाभित्र बसेर बजेट तयार पार्नु पर्छ,” उनको भनाइ थियो।
उनले चालु खर्चमा अनपेक्षित रूपमा आउने दबाबलाई पनि कार्यान्वयनमा चुनौतीको रूपमा चित्रण गरे। “परिस्थितिले कहिलेकाहीं अनुमानभन्दा बढी भार थप्छ, त्यसैले योजना बनाउँदा यथार्थपरक दृष्टिकोण आवश्यक छ,” पौडेलले भने।