काठमाडौं — फिफाको प्रतिबन्ध फुकुवा भएसँगै पहिलोपटक एन्फा साधारणसभामा सहभागी हुन पुगेका पूर्वअध्यक्ष गणेश थापालाई प्रवेश नदिएपछि धुलिखेलको वातावरण तातेको छ।
थापा आज धुलिखेलमा सुरू भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभामा सहभागी हुन पुगेका थिए। तर, एन्फा पदाधिकारीहरूले उच्च अदालत पाटनको आदेश देखाउँदा पनि प्रवेशमा रोक लगाएको उनका छोरा अभिषेक थापाले बताएका छन्।
“बुवा यही धुलिखेलमा हुनुहुन्छ तर प्रवेश दिइएको छैन, अदालतको आदेश देखाउँदा पनि होइन भनिएको छ,” अभिषेकले सञ्चारकर्मीसँग भने।
गणेश थापा आफ्नो समर्थक समूहसहित सभास्थल पुगेका थिए। तर, अनुमति नपाएपछि उनी बाहिरै बस्न बाध्य भएका छन्। यस घटनाले फुटबल प्रशासनभित्रको पुरानो द्वन्द्व पुनः सतहमा ल्याएको विश्लेषण गरिएको छ।
थापामाथि फिफाले दश वर्षको प्रतिबन्ध लगाएकोमा हालै त्यो अवधि पूरा भई फुकुवा भएको हो। यसपछि पहिलोपटक उनी एन्फाको औपचारिक कार्यक्रममा देखापर्न लागेका थिए।