+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

मेड इन नेपाल को सपना साकार गर्न युवालाई सीप–स्टार्टअपमा जोड : मन्त्री भण्डारी

विदेशमुखी सोच छाडेर स्वदेशमै उद्यम गरौं, सरकारले नीति, सहुलियत र स्रोत सब उपलब्ध गराउँछ : उद्योगमन्त्री

जनवाच
४ घण्टा अगाडी

काठमाडौँ – विदेशिनुपर्ने बाध्यता होइन, स्वदेशमै अवसर खोज्ने सोच बनाउनु आजको आवश्यकता हो — यिनै भनाइसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली युवालाई स्वदेशमै उद्यमशील बन्न आह्वान गरेका छन्।

नेपाल जेसीजद्वारा काठमाडौंमा आयोजित “क्रिएटिभ यङ इन्ट्रप्रेन्योर (CYE) र पब्लिक स्पिकिङ च्याम्पियनसिप २०२५” कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले सरकार उद्यमशीलताका लागि नीति, कार्यक्रम र लगानीसहित युवाको साथमा उभिएको स्पष्ट पारे।

“सीप, सोच र सम्भावनाको देश नेपालमा भविष्य खोज्न नसकेर युवाहरू विदेशिनु दुःखद हो,” उनले भने, “सरकारले विना धितो स्टार्टअप कर्जादेखि इनोभेसन ग्रान्टसम्मका कार्यक्रम ल्याएको छ। हिजो बैंकको जागिर छाडेर व्यवसाय थालेका युवाले अहिले उदाहरणीय काम गरेका छन्।”

मन्त्री भण्डारीका अनुसार, गत आर्थिक वर्षमा २५ करोडको स्टार्टअप कर्जा कार्यक्रमले १६५ उद्यमीलाई विना धितो ऋण दिएको थियो भने चालू वर्षमा १ अर्ब विनियोजन गरिएको छ र ६६१ जना युवा छनोट भइसकेका छन्।

“यी तथ्यहरूले देखाउँछ — युवा उद्यमशीलता अब शब्द होइन, व्यवहारमा परिणत हुँदैछ,” मन्त्री भण्डारीले भने। “युवाको सिर्जनशीलता र दृष्टिकोणले देशको अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउने सम्भावना प्रस्ट देखिन्छ।”

कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र रोबोटिक्सजस्ता नवीनतम क्षेत्रमा आधारित व्यापार मोडेलहरूसँग नेपाली युवा परिचित हुनुपर्नेमा मन्त्री भण्डारीले जोड दिए।

“अब हामीले केवल व्यवसाय होइन, इनोभेसनसँग जोडिएको उद्यम चाहिन्छ,” उनले भने, “सरकार, निजी क्षेत्र र संस्थाहरूको संयुक्त प्रयासबाट मात्र यस्तो रूपान्तरण सम्भव हुन्छ।”

सरकारको अर्को प्राथमिकता ‘मेड इन नेपाल’ अभियानलाई अन्तर्राष्ट्रिय बजारसम्म पु-र्याउने रहेको मन्त्री भण्डारीले स्पष्ट पारे। स्वदेशी उत्पादन र प्रविधिलाई जोडेर युवालाई आत्मनिर्भर बनाउने दीर्घकालीन योजनामार्फत नेपालभित्रै रोजगारी र सम्भावना सृजना गर्ने उद्देश्य रहेको उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ