+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

धितोपत्र बोर्ड अध्यक्षप्रति आएका आरोपप्रति विज्ञप्ति जारी गर्दै आपत्ति : कानुनी कारबाहीको चेतावनी

जनवाच
४ घण्टा अगाडी

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आफ्ना अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि समाजिक सञ्जाल र केही सञ्चारमाध्यमहरूमा फैलाइएको आरोपप्रति कडा आपत्ति जनाएको छ।

धितोपत्र बजारमा भइरहेका सुधारात्मक गतिविधिसँग असन्तुष्ट समूहहरू नियामक निकायको छवि बिगार्ने नियोजित प्रयासमा लागिपरेको संकेत गर्दै बोर्डले मंगलबार विज्ञप्ति जारी गरेको हो।

बोर्डका अनुसार, पछिल्लो समय आईपीओ स्वीकृतिको प्रक्रिया चलिरहेको केही जलविद्युत् कम्पनीहरूसँग अध्यक्ष श्रेष्ठले बार्गेनिङ गरिरहेको भन्ने आशयका हल्लाहरू व्यापक रुपमा फैलाइएका छन्, जसलाई पूर्ण रूपमा कपोकल्पित, तथ्यहीन र नियतबस गरिएको दावी गरिएको छ।

बोर्डले यस्तो आरोपमा कुनै पनि व्यक्ति वा संस्थाले अध्यक्षको नाम दुरुपयोग गरेको ठोस प्रमाण उपलब्ध गराएमा कडा कानुनी कारबाही गरिने स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, “यदि कसैले बोर्ड अध्यक्षको नाम लिई कुनै पनि प्रकारको आर्थिक वा अन्य गैरकानुनी फाइदा लिने कार्य गरेको जानकारी भएमा तथ्यगत विवरण उपलब्ध गराइदिनु भएमा सम्बन्धित उपर आवश्यक कानुनी कारबाही अगाडि बढाइने जानकारी गराइन्छ।”

बोर्डले पछिल्लो समय पुँजी बजारमा ल्याइएका सुधारहरू केही समूहलाई असहज लागिरहेको उल्लेख गर्दै, त्यही असहजताको प्रतिक्रिया स्वरूप नियामक निकायमाथि भ्रम फैलाउने अभियान चलाइएको संकेत गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “पुँजी बजार क्षेत्रमा भइरहेका सुधारसँग अत्तालिएर नियोजित रूपमा यस्ता प्रायोजित सामग्रीहरूको सम्प्रेषण भएको देखिन्छ, जसले न केवल बोर्डको प्रतिष्ठामा आँच पुर्‍याउँछ, तर लगानीकर्ताको मनोबलमा पनि नकारात्मक असर पार्छ।”

बोर्डले पुनः एकपटक स्पष्ट पारेको छ कि, बजारमा गरिने सबै निर्णयहरू निर्धारित कानुनी प्रक्रिया र नियामक मापदण्डअनुसार हुनेछन्। पुँजी बजारमा पारदर्शिता, निष्पक्षता र लगानीकर्ताको हित सर्वोपरि रहेको भन्दै बोर्डले समाजिक सञ्जालमा फैलिने भ्रामक सूचनाप्रति सतर्क रहन आग्रह पनि गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ