काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित कार्यसमितिसँग सहकार्य गर्दै अगाडि बढ्ने स्पष्ट संकेत दिएकी छन्। परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री राणाले एनआरएनएलाई “नेपालका मानार्थ दूत” को हैसियतमा परिभाषित गर्दै उनीहरूको भूमिकालाई अझ प्रभावकारी बनाउन सरकार कटिबद्ध रहेको बताइन्। सर्वोच्च अदालतको निर्देशनमा गठित उच्चस्तरीय समितिबाट सम्पन्न एकता महाधिवेशनमार्फत महेश कुमार श्रेष्ठको नेतृत्वमा बनेको कार्यसमितिलाई बधाई दिँदै उनले अन्तरविरोध र विवाद समाधान गर्न सबै समूहलाई गोलबद्ध हुन आह्वान गरिन्। मन्त्री राणाले भनिन्, “गैरआवासीय नेपालीहरू सिंगो राष्ट्रको लागि सम्पत्ति हुन्। उनीहरूलाई बिचलित हुन नदिई एकताबद्ध ढंगले अघि बढ्नु आजको आवश्यकता हो।” उनले कानुनी प्रक्रिया अनुसार अदालतमा रहेका विवादास्पद मुद्दाहरूलाई समाधानतर्फ लैजाने र मन्त्रालयले त्यसमा आवश्यक भूमिका खेल्ने प्रतिबद्धता जनाइन्। कार्यक्रममा मन्त्रालयका सचिव अमृतबहादुर राईले पनि एनआरएनएसँग सरकारको सहकार्य सशक्त बनाउनेतर्फ मन्त्रालयको तयारी रहेको बताए। संघका नवनिर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठले सरकार, परराष्ट्र मन्त्रालय तथा एकता महाधिवेशन सफल पार्न सघाउने सबैलाई आभार प्रकट गर्दै सहकार्य र संवादमै संगठनको दीर्घकालीन स्थायित्व रहेको धारणा राखे। उनले नेपालको विकासमा एनआरएनएलाई साझेदार बनाउने दृढता दोहोर्याए। पूर्वअध्यक्ष भवन भट्टले “तिता कुराहरू भुलौं, साझा भविष्य बनाऔं” भन्ने भावनासहित अघि बढ्दा मात्रै संगठन बलियो बन्ने धारणा राखे। उक्त अवसरमा उच्चस्तरीय समितिका सदस्यहरूले परराष्ट्रमन्त्री राणालाई एकता महाधिवेशनसम्बन्धी आधिकारिक प्रतिवेदन हस्तान्तरण गरेका थिए।