काठमाडौं, वैशाख २१ । नेपालको डिजिटल वित्तीय भविष्यतर्फको यात्रा अझ सशक्त बनाउन आगामी बिहीबार राजधानी काठमाडौंमा ‘युनियनपे नेपाल फिनटेक फेस्टिभल–२०२५’ आयोजना हुने भएको छ। काठमाडौं फिनटेक र फिनटेक अलायन्स नेपालको सहकार्यमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको यो फेस्टिभल आयोजना हुन लागेको हो।
फेस्टिभलमा नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारी विशेष अतिथिको रूपमा सहभागी हुनेछन् भने विश्वप्रसिद्ध बैंक तथा फिनटेक कम्पनीका वरिष्ठ विज्ञहरूले समेत विचार प्रस्तुत गर्नेछन्। सहभागी वक्ताहरूमा डीबीएस बैंकका चिफ इनोभेशन अफिसर नील क्रस, कोटाक महिन्द्रा बैंकका चिफ डिजिटल अफिसर दीपक शर्मा, ‘दि डिजिटल फिफ्थ’ का सीईओ समीर सिंह जैनि र ल्यारा नेटवर्कका सीईओ राजेश देखाईं प्रमुख छन्।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका पदाधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रमुख, नियामक निकाय, शैक्षिक क्षेत्रका विज्ञ, फिनटेक कम्पनीका प्रतिनिधि लगायतको उल्लेखनीय उपस्थिति रहनेछ।
फेस्टिभलमा नवीनतम प्रविधिको प्रदर्शनी, फिनटेक समाधानहरूको अवलोकन, उत्पादन प्रदर्शन तथा कम्पनीहरूबीच सहकार्य सम्झौता समेत गरिने आयोजकले जनाएका छन्। आयोजक संस्थापक सञ्जिव सुब्बाका अनुसार, “यो महोत्सव नेपालमा डिजिटल वित्तीय रूपान्तरणतर्फको ऐतिहासिक कोसेढंगा बन्नेछ।”
कार्यक्रमलाई नेपाल क्लियरिङ हाउसले प्रायोजन गरेको छ भने ग्लोबल फिनटेक अलायन्स, एशिया फिनटेक अलायन्स, इन्टरनेशनल डिजिटल इकोनोमीज एसोसिएसन, फिनटेक कन्भर्जेन्स काउन्सिल र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्य रहेको छ।