+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रबिधी

एमबीयुएसटी प्रगतिशील शिक्षा यात्राको मूर्त प्रतीक हो: पूर्वमन्त्री पोखरेलको सन्देश

जनवाच
४ घण्टा अगाडी

काठमाडौं । पूर्व शिक्षामन्त्री गिरीराजमणि पोखरेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबीयुएसटी)लाई नेपालको शिक्षामा रूपान्तरणको सशक्त आधार भएको बताएका छन्। शनिबार राजधानीमा आयोजित ‘विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम’ शीर्षकको अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै पोखरेलले उक्त विश्वविद्यालयलाई एक सपना पूरा हुन थालेको संकेतका रूपमा प्रस्तुत गरे।

“हामीले सपना देख्यौं, बीउ रोप्यौं, अब अंकुर देखिन थालेको छ,” उनले उत्साहित हुँदै भने, “यो केवल विश्वविद्यालयको निर्माण होइन, हाम्रो राष्ट्रिय संकल्पको मूर्त प्रतिबिम्ब हो।”

पूर्वमन्त्री पोखरेलले अघिल्लो चरणमा एसियाली विकास बैंकको सहायतामा अघि बढाइएको परियोजना कानुनी र संस्थागत अड्चनका कारण निष्क्रिय बनेको स्वीकार्दै त्यो अनुभवले भविष्यको बाटो तय गर्न सहयोग पुगेको बताए। “बाह्य समर्थनको प्रतीक्षा नगरी हामीले आफ्नै ढंगले अघि बढ्ने निर्णय गरेकाले आज यो सम्भव भएको हो,” उनले प्रस्ट पारे।

उनले संसदबाट पारित भएको ‘मदन भण्डारी विज्ञान र नवप्रविधि कलेज ऐन २०७९’लाई नेपालको शिक्षा प्रणालीमा नवीन मोडेल स्थापनाको कोशेढुंगा भन्दै यसले राजनीतिक हस्तक्षेपबाट मुक्त, उत्तरदायी र नवीन शासकीय संरचना निर्माणमा टेवा पुर्‍याएको उल्लेख गरे।

“एमबीयुएसटी अब केवल कक्षाकोठासम्म सीमित छैन,” पोखरेलले भने, “यसले उद्योगसँगको सहकार्य, प्रविधिनिर्भर शिक्षाशैली र अनुसन्धानलाई केन्द्रमा राख्दै दक्षिण एसियामा उदाहरणीय मोडेल स्थापित गर्न थालेको छ।”

उनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि नेपाल खुला विश्वविद्यालयसम्मका शैक्षिक संस्थाको स्थापनामा आफ्नो सक्रियता स्मरण गर्दै शिक्षा र राष्ट्रिय निर्माण आफ्नो राजनीतिक यात्राको मूल आधार भएको पुनः दोहोर्याए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ