काठमाडौं, २१ वैशाख । हुलाकी मार्ग हुँदै तराई मधेसमा जनजागरण अभियान सम्पन्न गरेको नेकपा (माओवादी केन्द्र) अब पहाडको राजनीतिक भूगोलमा अभियान विस्तार गर्न लागेको छ।
पार्टीले जेठ २ गतेदेखि मध्यमाञ्चल (मध्यपहाडी लोकमार्ग) केन्द्रित अभियान सुरु गर्ने निर्णय गरेको छ। आइतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको माओवादी केन्द्र पदाधिकारी बैठकले यो नयाँ चरणको अभियान घोषणा गरेको हो।
पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार, तराई मधेसमा सञ्चालन गरिएको जागरण अभियान अपेक्षाभन्दा अधिक सफल भएको मूल्यांकन गर्दै अब पहाडी भेगका जनतालाई पार्टीको विचार र कार्यक्रमसँग पुनः जोड्ने रणनीति तय गरिएको हो।
“अब अभियान पहाडमा चढ्छ, हामी जेठ २ गतेदेखि मध्यमाञ्चल केन्द्रित अभियान सुरू गर्छौं,” सापकोटाले जानकारी दिए।
माओवादी केन्द्रले यसअघि पुस २३ गतेको केन्द्रीय समिति बैठकमै तराई र पहाडका दुई भौगोलिक क्षेत्रलाई लक्षित गरेर चरणबद्ध अभियान चलाउने निर्णय गरेको थियो। तर मिति निर्धारण भने नगरेको थियो।
झापाबाट फागुन १२ गते सुरू भएको तराई मधेस हुलाकी मार्ग केन्द्रित अभियान वैशाख १७ गते कञ्चनपुरमा समापन भएको थियो। पार्टीले यस अभियानलाई “संगठन विस्तार, जनसंपर्क मजबुत बनाउने र राजनीतिक सन्देश पुर्याउने अवसर” को रूपमा हेरेको जनाएको छ।