काठमाडौं, २० वैशाख — प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ सांसदहरूलाई पार्टी नेतृत्वप्रति पूर्ण विश्वास राख्न आग्रह गरेका छन्। शनिबार बालुवाटारमा आयोजित संसदीय दलको बैठकमा उनले सरकारको नीति र कार्ययोजना सही दिशातर्फ उन्मुख भएको दाबी गर्दै सांसदहरूलाई आत्मविश्वासपूर्वक अघि बढ्न निर्देशन दिएका हुन्।
‘हाम्रा नीतिहरू सही छन्, ढुक्कले त्यसैको पक्षमा अडिनुस्,’ ओलीले भने, ‘विपक्षी भएको नाताले आलोचना गर्नु उहाँहरूको बाध्यता हो, तर त्यसले सत्य बद्लिँदैन।’
ओलीले विपक्षी दलहरूले सरकारका कुनै पनि बुँदाको समर्थन नगर्ने रवैयालाई आलोचना गर्दै ‘अन्धविरोध’ को राजनीति दीर्घकालीन हिसाबले उनीहरूकै लागि हानिकारक हुने चेतावनी पनि दिए।