काठमाडौं— मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबियूएसटी) ले शैक्षिक कूटनीतिको ऐतिहासिक सुरुवात गर्दै “विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम” शिर्षकमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।
आइतवार काठमाडौंमा आयोजना हुने एकदिने सम्मेलनमा सातभन्दा बढी मुलुकबाट प्रख्यात प्राज्ञ, अनुसन्धानकर्ता, नीति निर्माता र विश्वविद्यालयका ट्रस्टीहरूको सहभागिता रहनेछ। सम्मेलनमार्फत वैश्विक सहकार्यको ढोका खोल्ने र दीर्घकालीन रणनीतिमा अन्तर्राष्ट्रिय परामर्श जुटाउने उद्देश्य लिइएको विश्वविद्यालय अध्यक्ष डा. राजेन्द्रध्वज जोशीले जानकारी दिए।
उनका अनुसार हालसम्म १ करोड २५ लाख रुपैयाँबराबरको आर्थिक प्रतिबद्धता भइसकेको छ, जुन नवस्थापित विश्वविद्यालयको आधारशिला सुदृढ पार्ने प्रारम्भिक सहयोगका रूपमा लिइएको छ।

सम्मेलनमा नेसनल युनिभर्सिटी अफ सिंगापुरका प्राध्यापक तथा एमबियूएसटी ट्रस्टी प्रो. सीरम रामकृष्ण मुख्य वक्ताको रूपमा बोल्नेछन्। साथै, एमआईटी, केएआईएसटी, म्याकगिल विश्वविद्यालय, ओलिन इन्जिनियरिङ कलेजलगायतका संस्थाका दिग्गजहरू पनि सम्मेलनमा विचार प्रस्तुत गर्नेछन्।
सार्वजनिक नीतिका पूर्व उच्च अधिकारीहरू, जस्तै डा. गोविन्दराज पोखरेल, डा. संगीता सिंह र डा. केनिची ओहाशीको सहभागिता सम्मेलनलाई नीति निर्माण र अनुसन्धानबीचको सेतु बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
“विश्वस्तरीय विश्वविद्यालय निर्माण : सरोकारवालाको सहभागिता” विषयक प्यानल छलफल बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले सञ्चालन गर्नेछन्। छलफलमा सांसद तथा ट्रस्टी महेशकुमार बर्तौला, पूर्व महानियन्त्रक भानु आचार्य लगायतको सहभागिता रहनेछ।
एमबियूएसटीले यस सम्मेलनलाई आफ्नो अन्तर्राष्ट्रियकरण यात्राको औपचारिक सुरुवातको रूपमा लिएको छ। सम्मेलनमा ४०० भन्दा बढी सहभागीहरू र ३० भन्दा बढी वक्ता सहभागी हुने बताइएको छ।