+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

चाबहिलको सुनचाँदी पसलमा भीषण आगलागी, करिब एक करोडको क्षति

जनवाच
५ घण्टा अगाडी

काठमाडौं, १८ वैशाख – काठमाडौंको चाबहिल चोकस्थित एक सुनचाँदी पसलमा बिहीबार बिहान भीषण आगलागी हुँदा दुई व्यवसायमा झन्डै एक करोड रुपैयाँ बराबरको क्षति भएको छ।

काठमाडौं महानगरपालिका–७ स्थित ६६ वर्षीया राधा पाण्डेको घरको ग्राउन्ड फ्लोरमा सञ्चालित ‘सिंगापुर ज्वेलर्स’मा बिहानको समयमा विद्युत सर्ट भएर आगो लागेको हो। भोजपुर घर भई बसुन्धरामा बस्ने ४४ वर्षीय सन्तोष बराइलीले सञ्चालन गर्दै आएको उक्त पसलमा भएको आगलागीबाट सुन, चाँदी, नगदसहित झण्डै ७० लाख रुपैयाँको सम्पत्ति जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ।

आगोले त्यति मात्रै नभई सोही भवनमा रहेको जिएन इलेक्ट्रोनिक्समा समेत फैलिँदा भ्याकुम क्लिनर, फ्यान, वासिङ मेशिन, ओभनजस्ता सामान जलेर करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

घटनास्थलमा समयमै दमकल पुगेर आगो नियन्त्रणमा लिइएपनि व्यवसायीले ठूलो क्षति व्यहोर्नु परेको छ। सुरक्षाका दृष्टिले पुराना बस्तीयुक्त क्षेत्रमा आगलागीसम्बन्धी पूर्वतयारीको आवश्यकतामाथि प्रश्न उठाउँदै स्थानीयहरूले तत्कालीन पूर्वाधार सुधारको माग गरेका छन्।

आफ्नो पसल जलेर खरानी भएको देखेका व्यवसायी बराइलीले निकै पीडासाथ भने, “दश वर्षको मिहिनेत पलभरमै सकियो, यस्तो पीडा कसैलाई नपरोस्।”

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ