काठमाडौं, वैशाख १८ — राष्ट्र बैंकले नीति निर्देशना उलंघन गर्ने पाँच वाणिज्य बैंकमाथि कारबाही गरेको छ। बैंक सुपरीवेक्षण विभागले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा वित्तीय अनुशासन पालना नगरेका बैंकहरू राष्ट्र बैंकको निगरानीमा परेका हुन्।
कारबाहीमा परेका बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन्।
तीन बैंकका प्रमुख कार्यकारी अधिकृतहरू (सीईओ) — राष्ट्रिय वाणिज्य, कुमारी र लक्ष्मी सनराइज — लाई सचेत गराइएको छ।
नेपाल बैंकका सीईओ लाई पनि सचेत गराउँदै ५ लाख रुपैयाँ जरिवाना गरिएको छ।
सबैभन्दा कडा कारबाही स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमाथि गरिएको छ, जसले राष्ट्र बैंकको निर्देशन अनुसार तोकिएको क्षेत्रमा न्यूनतम कर्जा प्रवाह नगरेको भन्दै १४ करोड ८५ लाख रुपैयाँभन्दा बढीको जरिवाना तिर्नुपर्ने भएको छ।
राष्ट्र बैंकले यस कदमबाट वित्तीय क्षेत्रको अनुशासन कायम राख्नेतर्फ कडाइ गर्ने संकेत दिएको छ। निरन्तर नाफाको दौडमा बैंकहरूले नियामक मापदण्ड विपरीतको गतिविधि बढाइरहेको अवस्थामा राष्ट्र बैंकको यो कारबाही संस्थागत उत्तरदायित्व र पारदर्शिता प्रति चेतावनीका रूपमा आएको छ।