काठमाडौं, वैशाख ८ — राज्यविरुद्धको अभियोगमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा सांसद धवल शमशेर राणालाई स्वास्थ्यको गम्भीर अवस्थाका कारण हाजिरी जमानीमा रिहा गरिएको छ।
मुखमा क्यान्सर रोगबाट पीडित राणालाई सरकारी वकिल कार्यालयको सहमतिमा उपचारका लागि रिहा गरिएको हो। काठमाडौं जिल्ला प्रहरी परिसरले आइतबार राति उनलाई परिवारको जिम्मा लगाउँदै हाजिरी जमानीमा छाडिएको जनाएको छ।
राणालाई गत चैत १५ गते तीनकुनेमा भएको विरोध प्रदर्शनका क्रममा राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्रसहित राज्यविरुद्धको अभियोगमा पक्राउ गरिएको थियो।
प्रहरीका अनुसार, राणाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेकाले उनलाई अस्पतालमा आवश्यक उपचारका लागि छुट दिइएको हो। प्रहरी स्रोतका अनुसार, उनको नियमित स्वास्थ्य जाँच र उपचारका लागि पत्नीको जिम्मा लगाएर छाडिएको हो।