काठमाडौं, वैशाख ७ – आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट निर्माणको अन्तिम तयारीमा सरकारले गति दिएको छ। राष्ट्रिय योजना आयोगले नीतिगत र कार्यक्रमगत सुझावसहितको विस्तृत प्रतिवेदन अर्थ मन्त्रालयमा पेश गर्दै बजेट निर्माणको औपचारिक प्रक्रियालाई नयाँ चरणमा पुर्याएको हो।
एक औपचारिक कार्यक्रममा आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन हस्तान्तरण गरे।
अर्थमन्त्री पौडेलले पछिल्लो समय देशको आर्थिक सूचक सकारात्मक दिशामा उन्मुख भएको बताउँदै अबको बजेट “सबल अर्थतन्त्रको जग तयार गर्ने” खालको हुने संकेत दिए। उनले भने, “नीतिगत, कानुनी र संरचनागत सुधारमार्फत अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको छ। यही आधारमा आगामी बजेटले स्थायित्व र दिगोपनालाई प्राथमिकता दिनेछ।”
आयोगका उपाध्यक्ष अधिकारीले प्रतिवेदन कुनै एक निकायको रायमा सीमित नभई, मन्त्रालयहरू, निकायहरू र सरोकारवालासँगको विस्तृत परामर्शपछि तयार पारिएको जानकारी दिए। “सरकारको नीति निर्माण प्रक्रियालाई सहज, समन्वित र व्यवहारिक बनाउन हामीले सहभागीहरूको विचार समेटेका छौं,” उनले भने।
प्रतिवेदनले अब बन्ने बजेटले रोजगारी सिर्जना, उत्पादन वृद्धि, निजी क्षेत्रसँग सहकार्य, सामाजिक सुरक्षा सुदृढीकरण, पूर्वाधार विस्तारजस्ता प्राथमिकतामा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याएको छ।