नेपाली बजारमा दिनप्रतिदिन नयाँ नयाँ विद्युतीय सवारीसाधन थपिने क्रम जारी छ । चारपाँग्रे सवारीसाधनमा एकलौटी बजार स्थापना भैसकेपनि दुइपाँग्रे सवारीसाधनमा भने विस्तारै विद्युतीय तर्फ अघि बढेको देखिन्छ ।
यसै क्रममा विगत ६ बर्षदेखि नेपालमा लुयान ब्राण्डको इलेक्ट्रिक स्कुटर बेच्दै आइरहेको जीरो इमिसन राइड एनले फेरी अर्को ब्राण्ड सारथीको “विँगर” मोडेलको नयाँ स्कुटर नेपालमा भित्राएको हो ।
निक्कै गुणस्तरीय देखिने विँगरमा ७२ भोल्ट ३८ एएच क्षमताको ग्राफिनी बेट्रि राखिएकोले यसले एकपटकको फुल चार्जमा करिब १०० देखि १२० सम्मको रियल लाइफ रेन्ज दिने कम्पनीका सेल्स तथा मार्केटिङ्ग हेड शंकर शर्माको दावी छ ।

यसमा लिथियम बेट्रिको छनौट पनि रहेको छ । ७२ भोल्ट, ४० एएच क्षमताको लिथियम बेट्रिमा पनि यो स्कुटर पाउन सकिन्छ ।
यसमा ३९०० वाट क्षमताको पिक पावर भएको मोटर जडान गरिएको हुँदा कतिपय जिद्दि उकालोमा पनि यसलाई सजिलै चलाउन सकिने कम्पनीको भनाइ छ ।
कम्पनीले यसलाई काठमाण्डौं उपत्यका वरीपरिका केहि उकालो बाटोमा टेस्ट गरिसकेको जनाएको छ । व्हाइट गुम्बा, नगरकोट, कालुपाँडे डाँडा, शिवपुरी जँगल, लाकुरीभञ्ज्याङ्ग, पाइलटबाबा मन्दिर लगायतका उकालो बाटोमा यसलाई सफल टेस्ट गरिसकेको कम्पनीले बताएको छ ।
यसमा ओरालोमा चलाउँदा अटोमेटिक बेट्रि चार्ज हुने सिस्टम “रि–जेन ब्रेकिङ्ग सिस्टम” दिइएको छ । रिभर्स मोड, साइड स्ट्याण्ड सेन्सर, एनएफसि कार्ड, मोवाइल चार्जिङ्ग पोर्ट, क्रुज कन्ट्रोल लगायतका अत्याधुनिक फिचर लोडेड यो स्कुटरमा अतिरिक्त सामान ढुवानीको लागि एक्ट्रा क्यारि–बक्स पनि दिइएको छ ।
यो स्कुटरको अगाडि र पछाडि दुबै पाँग्रा १२ इन्चको व्हिलमा दिइएको छ भने दुबै पाँग्रामा डिस्क ब्रेक दिइएको छ । यसमा अगाडिको ब्रेक लगाउँदा पछाडिको पनि ब्रेक लाग्ने “कम्बाइन्ड ब्रेकिङ्ग सिस्टम” दिइएकोले सुरक्षित स्कुटरको रुपमा मान्न सकिन्छ ।

स्टाइलिस लुक्स र एरोडाइनामिक डिजाइनमा रहेको विँगरलाई कम्पनीले विभिन्न ४ कलरमा नेपाली बजारमा उतारेको छ । यो स्कुटर सेतो, कालो, डार्क हरियो र सिल्भर कलरमा उपलब्ध छ ।
बेट्रि अनुसार यसको मुल्य भने फरक पर्दछ । कम्पनीका अनुसार ग्राफिनी बेट्रिमा यसको मुल्य रु. २ लाख ९ हजार ७ सय पर्दछ भने लिथियन बेट्रिमा रु. २ लाख ५४ हजार ७ सय पर्दछ ।
कम्पनीले यसलाई खरिद गर्नको लागि सजिलो फाइनान्सको पनि व्यवस्था गरेको छ भने पुरानो अन्य साधनसँग साटफेर गरेर लान मिल्ने एक्स्चेन्जको पनि सुविधा उपलब्ध रहेको जनाएको छ ।
कम्पनीको काठमाण्डौं उपत्यकामा मात्र करिब १७ स्थानमा सर्भिस सेन्टर तथा चार्जिङ्ग पोइन्ट सँचालनमा रहेको कम्पनीले जनाएको छ ।