काठमाडौं, ४ बैशाख — कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान अहिले विकासको दौडमा छ। प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्य तीव्र गतिमा अघि बढिरहेको छ। यही सन्दर्भमा उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बिहीबार मैदानको छड्के निरीक्षण गर्दै निर्माण कार्यको अवस्थाबारे बुझ्न पुगे।
झरी परिरहेकै बेला सिंह मैदान पुगेका थिए, जहाँ उनले निर्माणको प्रगतिबारे ठेकेदार कम्पनीका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गरे। निरीक्षणका क्रममा उनले कामको गति बढाउनुका साथै गुणस्तरमा कुनै सम्झौता नगर्न चेतावनी दिए।
सिंहले जनाए अनुसार, कीर्तिपुर क्रिकेट मैदानमा १० हजार दर्शक क्षमता भएको प्यारापिट निर्माण तथा फ्लड लाइट जडान कार्य सन् २०८१ फागुनमा सम्झौता भई हाल तीव्र गतिमा अगाडि बढिरहेको छ। “तोकेको मितिभित्रै काम सक्न जनशक्ति थपेर भए पनि तीन सिफ्टमा काम भइरहेको छ,” सिंहले बताए।