+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अनियमित व्यापारमा कडाइ : मूल्यसूची र कागजात नभएका व्यवसायीलाई जरिवाना

जनवाच
२२ घण्टा अगाडी

काठमाडौंउपभोक्ताको अधिकार संरक्षण र व्यापारमा पारदर्शिता सुनिश्चित गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कडाइ गर्दै आएको छ। शुक्रबारको नियमित अनुगमनका क्रममा विभागले भक्तपुर र काठमाडौंका विभिन्न उद्योग तथा व्यवसायमा अनियमितता भेट्टाउँदै कडाभन्दा कडा कारबाही अघि बढाएको छ।

भक्तपुरको मध्यपुर थिमि–५ मा रहेको आदित्य इन्टरप्राइजेज ले मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ९(१) अनुसार ५० हजार रुपैयाँ जरिवाना तिर्न बाध्य बनाइएको छ।

त्यसैगरी सोही क्षेत्रको राजेश हार्डवेयर ले एमआरपीसहितको लेबल नराखी सामान बिक्री गरेको पाइएपछि उसलाई ऐनअनुसार लेबलसहित मात्र सामान बिक्री गर्न निर्देशन दिइएको छ।

काठमाडौंको व्यस्त व्यापारिक क्षेत्र ठमेलस्थित फास्टर सिल्कवे प्रालि लाई पनि विभागमा तीन दिनभित्र आवश्यक व्यवसायिक कागजात लिएर उपस्थित हुन निर्देशन दिइएको छ।

बिजुलीबजारस्थित सुमार्ग फार्मेसी मा समेत निरीक्षण गरिएको थियो। फार्मेसीमा रहेका कस्मेटिक्स तथा न्युट्रास्युटिकल्स सामग्रीको नमुना संकलन गरिनुका साथै ती वस्तुको बिक्री अस्थायी रूपमा रोक्का गरिएको छ। सो फार्मेसीलाई पनि सम्बन्धित कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

विभागका अनुसार उपभोक्ता संरक्षण ऐन २०७५ तथा नियमावली २०७६ उल्लंघन गर्ने व्यवसायीमाथि अनुगमनको क्रममा जरिवाना, निर्देशन वा कागजातसहित विभागमा उपस्थित गराउने कार्य तीव्र पारिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ