+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अटो

ईभी बीमामा स्पष्टता र पारदर्शिताका लागि नीति निर्माणको खाँचो : नाडा–प्राधिकरणबीच छलफल

ईभीलाई दिगो र सुरक्षित बनाउन बीमा नीति अपरिहार्य रहेको भन्दै , दुवै संस्थाले सहकार्यलाई अझ गहिर्याउने प्रतिबद्धता जनाएका छन्।

जनवाच
२२ घण्टा अगाडी

काठमाडौं – नेपालमा विद्युतिय सवारी साधन (ईभी) को प्रयोग तीव्र गतिमा बढ्दै गइरहेका बेला यससँग सम्बन्धित बीमा प्रणाली अझै पनि स्पष्ट नभएको भन्दै नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा) र नेपाल बीमा प्राधिकरणबीच विशेष छलफल सम्पन्न भएको छ।

शुक्रबार नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्राधिकरणका अध्यक्ष शरद ओझासँग भेट गर्दै ईभीको बीमा सम्बन्धी नीति निर्माणमा चाँडो स्पष्टता ल्याउन आग्रह गरेको हो।

उपाध्यक्ष श्रेष्ठले ईभीको संख्यामा भइरहेको तीव्र वृद्धिसँगै सम्भावित जोखिम व्यवस्थापनको विषयमा सरकार गम्भीर हुनुपर्ने भन्दै, पारदर्शी, व्यवहारिक र सुसंगत बीमा नीतिको खाँचो औँल्याउनुभयो। उहाँले बीमा बिना सवारी सञ्चालन गर्दा व्यक्तिगत र सार्वजनिक दुबै पक्षमा आर्थिक भार थपिन सक्ने चिन्ता व्यक्त गर्नुभयो।

बीमा प्राधिकरणले पनि छलफलमा ईभी बीमालाई व्यवहारमै प्रभावकारी बनाउन विभिन्न आयाम समेटिने जानकारी दिएको छ। त्यसअनुसार स्पेयर पार्ट्स, प्रविधिगत पक्ष, निर्माण सामाग्री र मूल्य मूल्याङ्कनका आधारमा ईभीका लागि छुट्टै बीमा ढाँचा विकास गरिनेछ। साथै, क्लेम प्रक्रिया सरल र प्रभावकारी बनाउने, बीमा शुल्क यथोचित बनाउने र नीतिलाई पारदर्शी बनाउने लक्ष्य लिइएको जनाइएको छ।

प्राधिकरणले नीति निर्माणमा नाडालाई प्रत्यक्ष सहभागी गराउने र नाडाले दक्षिण एशियाली देशहरूमा विद्यमान नीति र अभ्यासको तुलनात्मक अध्ययन गरी सुझाव दिने प्रतिबद्धता जनाएको छ।

छलफलमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, बीमा लेख महाशाखा प्रमुख निर्मल अधिकारी, नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, कार्यसमिति सदस्य यमुना श्रेष्ठ र सदस्य महेश पालको पनि उपस्थिति थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ