दाउन्ने, वैशाख ४ — बुटवल–नारायणगढ सडक विस्तार परियोजनाको ढिलाइप्रति चासो जनाउँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दाउन्ने खण्डको आकस्मिक निरीक्षण गरेका छन्। जटिल भू-धरातलीय संरचनाको कारण निर्माण चुनौतीपूर्ण हुँदै आइरहेका बेला मन्त्री दाहालले वर्षा सुरु हुनु अघि नै काम सम्पन्न गर्न निर्देशन दिएका हुन्।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने यो खण्डमा सवारी रोक्दै काम भइरहेको छ, जसले यात्रुहरूलाई असहज भएको गुनासो आइरहेका छन्। तर, आयोजनाले सकेसम्म न्यूनतम असुविधा हुने गरी समय व्यवस्थापन गरेर काम भइरहेको स्पष्ट पारेको छ।
सडक निर्माणमा एशियाली विकास बैंक (ADB) को ऋण सहयोगमा सञ्चालनमा रहेको यस आयोजना अन्तर्गत दाउन्ने क्षेत्रको विशेष भूगोललाई ध्यानमा राखी परम्परागत कालोपत्रे प्रविधिभन्दा फरक शैली अपनाइएको छ।
आयोजना निर्देशक चुडाराज ढकालका अनुसार, ढलान प्रविधि यो क्षेत्रमा दीगो र प्रभावकारी हुने भएकाले सोही मोडेलअनुसार कार्य तीव्र पारिएको छ। “जटिल भूभागका कारण ढलान उपयुक्त छ,” उनले भने, “त्यसैले वर्षा सुरु हुनुअघि सडक प्रयोगयोग्य बनाउने प्रयास छ।”
निरीक्षणका क्रममा मन्त्री दाहालले निर्माण कार्य द्रुत गतिमा अघि बढाउन र यात्रुलाई सकेसम्म कम असर पार्ने गरी कार्य व्यवस्थापन गर्न निर्देशन दिएका छन्। वर्षायाम सुरु हुनुअघि नै सडक खुला र सुरक्षित बनाउनेतर्फ स्पष्ट निर्देशन दिंदै उनले सम्बन्धित निकायलाई जिम्मेवार बन्न आग्रह गरे।