काठमाडौँ, चैत २८ – सरकार र नेपाल शिक्षक महासंघबीचको वार्ता आज सकिएको छ। शिक्षा मन्त्रालयमा सम्पन्न उक्त वार्तामा के सहमति भएको छ भन्ने बारे मन्त्रालयले भने खुलासा गर्न चाहेन।
शिक्षा मन्त्रालयका सचिवालयका एक सदस्यका अनुसार वार्तामा भएका कुराकानीलाई आन्तरिक छलफलपछि भोलि सार्वजनिक गरिने जानकारी दिइएको छ।
यसअघि, शिक्षक महासंघले २० चैतदेखि राजधानी काठमाडौंमा आन्दोलन सुरु गरेको थियो। हालसम्मको आन्दोलनका क्रममा शिक्षक महासंघले विरोधका कार्यक्रमहरु गर्दै आएको छ। बिहीबार, उनीहरूले माइतीघरदेखि बिजुलीबजार पुलसम्मको सडक कब्जा गरेर प्रदर्शन गरेका थिए, जसले प्रहरीसँग धकेलाधकेलको स्थिति उत्पन्न गरेको थियो।
वार्तामा शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वको टोली र सरकारको तर्फबाट शिक्षामन्त्री विद्या भट्टराईको नेतृत्वमा प्रतिनिधि टोली सहभागी थियो।