काठमाडौँ, चैत २८ – गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र लामो समयदेखि चलिरहेको विवाद समाधानका लागि अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले संवाद र समझदारीको बाटो रोज्न सबै पक्षलाई अपिल गरेका छन्।
अहिले संस्थामा देखिएको गम्भीर ध्रुवीकरण र अन्तरसंघर्षबीच शर्माले विशेषगरी बद्री केसी समूहलाई वार्ताको टेबलमा आउन आग्रह गर्दै संस्था जोगाउन ‘इगो होइन, एकता’ रोज्नुपर्ने तर्क गरेका छन्।
केसी समूहले यही अप्रिल १६ भित्र काठमाडौं आइपुग्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पदाधिकारीलाई इमेलमार्फत आग्रह गरेपछि शर्माको प्रतिक्रिया आएको हो। उनले उक्त कदमलाई सकारात्मक रूपमा लिँदै आफूले युरोप भ्रमणका क्रममा केसी समूहलाई नेपालमै भेटेर समाधान खोज्न प्रस्ताव गरिसकेको उल्लेख गरे।
“संघमा अहिलेको समस्या हामीभित्रै छ, त्यसको समाधान पनि हामीभित्रैबाट सम्भव छ,” शर्माले भने, “राजनीतिक नेतृत्वसँग छलफल गर्नु गलत होइन, तर प्राथमिकता संस्था भित्रकै बृहत् छलफल हुनुपर्छ।”
शर्माले एनआरएनएको साख जोगाउन र सर्वोच्च अदालतको आदेशअनुसार महाधिवेशन गर्ने बाटो खोल्न उच्चस्तरीय समितिका सबै सदस्य तथा संघका पूर्व अध्यक्षहरूसहित बृहत् बैठक गर्नुपर्ने सुझाव पनि दिएका छन्।
त्यस्तै, उनले उच्चस्तरीय समितिलाई संघको सचिवालय तथा एमआईएस प्रणालीसम्म सहज पहुँच नदिएको विषयप्रति दुख व्यक्त गर्दै सर्वोच्चको निर्देशन पालना गर्न आग्रह गरे।
“संस्था व्यक्तिगत स्वार्थ र अहंकारको बलिदानी बन्नु हुँदैन,” शर्माले भने, “संसारभर छरिएका गैरआवासीय नेपालीको भरोसा र गरिमा जोगाउने जिम्मेवारी हामी सबैको हो।”