+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

निराशालाई आशामा बदल्न निजी क्षेत्रलाई स्वतन्त्रता देऊ,अध्यक्ष चन्द्रप्रसाद ढकाल

ढकालको सम्बोधनले सकारात्मक सुधारप्रति विश्वास दिलाउने प्रयास गरे पनि नीति र कार्यान्वयनको स्पष्ट मार्गचित्रबिनाको सतर्कताले अर्थतन्त्रलाई क्षति पुर्‍याएको भन्ने आलोचना पनि गरे। अब जिम्मेवारी सरकारले लिने कि निजी क्षेत्रलाई विश्वास गरेर अघि बढ्ने ।

जनवाच
१ हप्ता अगाडी

२८ चैत, काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको वर्तमान आर्थिक अवस्था सुधारोन्मुख देखिए पनि युवाहरुको अपेक्षा पूरा गर्न अझै प्रयास अपुग रहेको बताएका छन्। महासंघको ५९औँ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८१ को उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ढकालले सरकारको अत्यधिक सतर्कताले अर्थतन्त्रलाई चलायमान हुन नदिएको तर्फ इशारा गरे।

उनले दुई वर्षअघि नेपाल श्रीलंकाको बाटोमा जाने खतरा उठाइएका बेला आफैंले त्यसलाई अस्वीकार गरेको स्मरण गराउँदै भने, “नेपालको वित्तीय सूचकहरु स्थिर थिए, तर सरकारले अनावश्यक डरले नीति कडा बनायो, जसले अर्थतन्त्रलाई झन् खुम्च्यायो।”

ढकालले अनावश्यक नियमनले गर्दा औपचारिक व्यापार घटेर अनौपचारिक व्यापार बढेको स्पष्ट पारे। “गाडी–मोटरसाइकल बाहेकका अधिकांश सामग्री अनौपचारिक रुपमा भित्रिएका छन्,” उनले भने, “राजस्व गुमेको छ, तर अर्थतन्त्र चलायमान छैन।”

“म निराशा होइन, आशा छर्न चाहन्छु,” भन्दै ढकालले देशभित्र मर्यादित रोजगारी सिर्जना गर्न नसकेसम्म युवाको विदेश पलायन नरोकिने बताए। निजी क्षेत्रले ८६% रोजगारी दिएको भए पनि वार्षिक पाँच लाख नयाँ श्रमिकलाई समेट्ने हैसियत निजी क्षेत्रसँग पनि नरहेको उनले स्वीकार गरे।

ढकालले दक्षिण कोरिया र बंगलादेशको विकास उदाहरण दिँदै नेपालले पनि अघि बढ्न सक्ने स्पष्ट सम्भावना भए पनि त्यो अवसर उपयोग गर्न नसकेको बताए। “१९६० मा समान हैसियतमा रहेका मुलुकहरुमध्ये कतिले चमत्कार गरे, हामी भने सम्भावनाको मात्र कथा भनिरहेछौं,” उनले दुःख व्यक्त गरे।

ढकालको प्रस्ताव छ – निजी क्षेत्रलाई निर्वाध रूपमा काम गर्न दिनुपर्छ, अनावश्यक नियन्त्रण हटाउनु पर्छ, र सरकार र निजी क्षेत्रको साझेदारीमै समृद्धिको यात्रा सम्भव छ। “सरकारको मुल एजेन्डा समृद्ध नेपाल, सुखी नेपाली हो भने, निजी क्षेत्रलाई सहयोग बिना त्यो सपना अपूरो रहन्छ,” उनको भनाइ थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ