काठमाडौं, चैत २७ – प्रधानमन्त्री केपी शर्मा ओली र भारतका कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानबीच आज बालुवाटारमा शिष्टाचार भेट भएको छ। बहुपक्षीय संगठन बिमस्टेकको तेस्रो कृषि मन्त्रीस्तरीय बैठकमा सहभागी हुन नेपाल आएका चौहानले प्रधानमन्त्री ओलीसँग दुई देशबीचको कृषिको सम्भाव्यता र साझेदारीको विषयमा छलफल गरेका हुन्।
प्रधानमन्त्री निवासमा भएको भेटमा मन्त्री चौहानले भारत र नेपालबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने बेला आएको उल्लेख गर्दै कृषिमा आधुनिकीकरण, खाद्य सुरक्षा र आर्थिक समृद्धिको साझेदार बन्ने प्रतिबद्धता व्यक्त गरे।
“सानातिना अल्झनभन्दा पनि ठूला र दीर्घकालीन विषयमा ध्यान केन्द्रित गर्नुपर्छ,” चौहानले भने, “संयुक्त कार्य समूह र द्विपक्षीय सम्झौताहरूलाई प्रभावकारी ढंगले अघि बढाउन भारत तयार छ।”
प्रधानमन्त्री ओलीले पनि कृषि क्षेत्रलाई आर्थिक समृद्धिको आधार स्तम्भको रूपमा लिँदै नेपाल–भारतले मिलेर आधुनिक कृषि प्रणाली, सहकार्य र प्रविधिको आदानप्रदानमा जोड दिनुपर्ने धारणा राखे।
“अहिले भावनामा होइन, व्यावहारिक सहयोगमा ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको छ,” ओलीले भने, “थाइल्याण्डमा प्रधानमन्त्री मोदीसँग भएको भेटले सकारात्मक वातावरण बनाएको छ, त्यसलाई व्यवहारमा उतार्नुपर्छ।”
प्रधानमन्त्रीले बदलिंदो विश्व परिप्रेक्ष्यमा क्षेत्रीय सहकार्य र रणनीतिक साझेदारीलाई अझ मजबुत बनाउन आग्रह गरेका थिए।