+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कृषि

विमस्टेक कृषि बैठक सम्पन्न: क्षेत्रीय सहकार्यमार्फत साझा चुनौती समाधानतर्फ जोड

दुबै मन्त्रीले नेपाल–भुटानबीच कृषि क्षेत्रको प्रवर्द्धनमा दीर्घकालीन साझेदारी आवश्यक रहेको भन्दै मन्त्रालयस्तरीय सहकार्यलाई थप बलियो बनाउने सहमति जनाए ।

जनवाच
१ हप्ता अगाडी

काठमाडौं, चैत २७ – कृषि र जलवायु परिवर्तनका साझा चुनौतीको समाधान खोज्दै तेस्रो विमस्टेक मन्त्रीस्तरीय कृषि बैठक मंगलबार काठमाडौंमा सम्पन्न भएको छ। नेपालका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले सदस्य राष्ट्रबीच सहकार्यलाई प्राथमिकता दिँदै संयुक्त वक्तव्य जारी गरेको छ।

बैठकमा भारत, नेपाल र भुटानका कृषिमन्त्रीहरुको प्रत्यक्ष उपस्थिति रहेको थियो भने बाँकी चार सदस्य राष्ट्रका मन्त्री तथा प्रतिनिधिहरू भर्चुअल माध्यमबाट सहभागी भए।

मन्त्री अधिकारीले उद्घाटन मन्तव्यमा कृषि विकासका लागि क्षेत्रीय सहकार्य अपरिहार्य रहेको बताउँदै जलवायु परिवर्तन र रासायनिक विषादीको अत्यधिक प्रयोगले सिर्जिएको चुनौती सामना गर्न साझा प्रयास आवश्यक रहेको औँल्याए।

भारतका कृषिमन्त्री शिवराज सिंह चौहानले कृषि, पशुपालन र मत्स्यपालन क्षेत्रमा विमस्टेक राष्ट्रबीच अपार सम्भावना रहेको बताउँदै साझा बजार, अनुसन्धान तथा प्रविधिको आदानप्रदानमार्फत सहयोग अझ मजबुत बनाउने समय आएको धारणा राखे।

बैठकको पूर्वसन्ध्यामा सम्पन्न उच्च अधिकारी बैठकले तयार पारेको संयुक्त वक्तव्यलाई मन्त्रीस्तरीय बैठकले अनुमोदन गरेको हो।

बैठकका क्रममा नेपाल र भारतबीच छुट्टै द्विपक्षीय भेटवार्ता पनि सम्पन्न भयो। भेटमा कृषिमन्त्री अधिकारीले भारतमा नेपाली कृषिजन्य वस्तुको निर्यात सहज बनाउन सहयोगको आग्रह गरे। भारतीय मन्त्री चौहानले दुई देशबीचको कृषि व्यापारलाई सरल बनाउनेतर्फ थप गृहकार्य गर्ने प्रतिबद्धता जनाए।

त्यस्तै, मन्त्री अधिकारी र भुटानका कृषिमन्त्री लेन्पो योन तेन फुन्थ्सोबीच पनि छुट्टै छलफल भएको थियो। भेटमा दुबै देशमा समान कृषि चुनौती रहेको भन्दै ‘याक’ विकासजस्ता साझा कार्यक्रम सञ्चालन गर्न सकिने विषयमा छलफल भयो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ