२७ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पहिलोपटक टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका पेस बलर नन्दन यादवले प्रभावशाली सुरुआत गरेका छन् । डेब्यू खेलमै विकेट लिन सफल भएका यादवको योगदानले नेपालले हङकङमा जारी टी-२०आई सिरिजको पहिलो खेलमा कतारमाथि ८ विकेटको सानदार जित दर्ता गरेको छ।
नेपालले कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य १७ ओभरमै २ विकेट गुमाउँदै पूरा गर्यो । जितसँगै नेपालले प्रतियोगिताको उत्कृष्ट सुरुआत गरेको छ । ओपनर कुशल भुर्तेलले ३८ रन बनाए भने कप्तान रोहित पौडेल ३७ रनमा अविजित रहे । यस्तै, आसिफ शेखले ३३ तथा बसिर अहमदले ३० रन बनाएर सहज जित सुनिश्चित गरे ।
तर आजको खेलको विशेष आकर्षण भने २१ वर्षीय पेस बलर नन्दन यादव थिए, जसले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमै एक विकेट लिएर राष्ट्रिय टोलीको लागि आशालाग्दो संकेत दिएका छन् । यसअघि एकदिवसीय टोलीमा परे पनि मौका नपाएका नन्दनले टी-२०आईमै डेब्यू गर्ने अवसर पाएका हुन् ।
पहिले ब्याटिङ गर्दै कतारले २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । कप्तान इक्रमुल्लाह खानले ५४ रनको संयमित पारी खेलेका थिए । अन्य खेलाडी शाहजैब जमिलले ३१, मुजीब उर रेहमानले अविजित २० र मुहम्मद इर्शादले अविजित १८ रन बनाएका थिए ।
नेपालका लागि नन्दनसहित करण केसी, सोमपाल कामी, गुल्शन झा र ललित राजवंशीले समान एक/एक विकेट लिएका थिए ।