काठमाडौं, चैत २६ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले अटोमोबाइल उद्योगलाई बिलासिताको वस्तु होइन, रोजगारी सृजनाको गतिशील स्रोतको रूपमा हेर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
नाडा अटो डायलग २०२५ मा बोल्दै मन्त्री भण्डारीले नेपालजस्तो विकासशील राष्ट्रमा अटोमोबाइल क्षेत्रलाई गलत धारणा बनाइँदै आएको भन्दै अब त्यसमा नीतिगत र व्यवहारिक बहस आवश्यक रहेको बताए।
उनले भने, “नेपालमा सवारीसाधनलाई अझै पनि ‘बिलासिता’ का रूपमा मात्र बुझिन्छ, तर यो सोच अब परिवर्तन हुनुपर्छ। यस क्षेत्रले राजस्व मात्र होइन, हजारौं युवालाई रोजगारी पनि दिएको छ।”
मन्त्री भण्डारीले अटोमोबाइल उद्योगमा कार्यरत मेकानिक, टेक्निसियन, विक्रेता, सेवा प्रदायक लगायतलाई उद्गार गर्दै यो क्षेत्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्र भएको बताए।
उनले थपे, “नेपालमा स्वरोजगार बढाउन चाहने युवाका लागि अटोमोबाइल एक उपयुक्त माध्यम हुन सक्छ। अब हामी यसलाई अझ नीतिगत रूपमा सहयोग पुर्याउने दिशामा अघि बढ्नेछौं।”