+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खेलकुद

विशाल’ प्रदर्शनको भरमा मच्छिन्द्रले पुलिसको यात्रामा लगायो ब्रेक

मच्छिन्द्रले साविक विजेतामाथि विजय हासिल गरेसँगै अब उपाधि होड अझ रोमाञ्चक मोडमा प्रवेश गरेको छ, जहाँ अब हरेक खेल फाइनल बराबर हुनेछ।

जनवाच
१ हप्ता अगाडी

 काठमाडौं – टाइब्रेकरमा नायक बनेका गोलरक्षक विशाल सुनारलाई ‘म्यान अफ द म्याच’ घोषित गर्दै १० हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिएको थियो। पुरस्कार सिप्रदी ट्रेडिङ्ग वीरगञ्जका प्रमुख सन्दिप गुप्ता र ग्रिन इनर्जीका शैलेस साहले हस्तान्तरण गरे।

२५ चैत, सिमरा – साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गर्दै मच्छिन्द्र क्लब जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गर्न सफल भएको छ। प्रतियोगिताको एक रोमाञ्चक भिडन्तमा मच्छिन्द्रले टाइब्रेकरमा ४–३ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो।

खेलको नायक बने गोलरक्षक विशाल सुनार, जसले निर्णायक बचाउ मात्र होइन, टाइब्रेकरमा आफैं पनि गोल गरेर टोलीको जित सुनिश्चित गरे। खेल अवधिभर उनको ‘विशाल’ प्रदर्शन नै मच्छिन्द्रको जितको मेरुदण्ड रह्यो।

९० मिनेटको निर्धारित समयसम्म दुबै टोलीले एक–एक गोल गरेका थिए। पुलिसका विवेक पाण्डेले दोस्रो हाफको सुरुवातमै शानदार फ्रिकिक गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर, ६१ औं मिनेटमा राजिव लोप्चनले बराबरी गोल फर्काउँदै खेलमा रोमाञ्च थपे।

निर्धारित समयपछि टाइब्रेकरमा गएको खेलमा मच्छिन्द्रका विशाल सुनार, विपन श्रेष्ठ, अशिम गुरुङ्ग र पुजन श्रेष्ठले गोल गरे। विवेक राईको प्रहार भने बाहिरिएको थियो।
पुलिसका अमित टमाटा, पुजन राई र मानबहादुर परियारले गोल गरे। तर, अरुण गाहा र विवेक पाण्डेको प्रहार असफल हुँदा पुलिसको यात्रा यहीँ टुंगियो।

विशाल सुनारले अरुणको प्रहारलाई पञ्च गरेर रोकेपछि सिमरा रंगशालामा उपस्थित झण्डै ७ हजार दर्शकको उत्साह चरममा पुगेको थियो।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनल सोमबार हुनेछ, जहाँ हिमालयन शेर्पा र फ्रेण्ड्स क्लब आमनेसामना गर्ने छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ