काठमाडौं, चैत २३ । नेपाल अब केवल आगो निभाउने मात्र हैन, आगो रोक्ने र सुरक्षाको भविष्य निर्माण गर्ने देश बन्दैछ। यही सोचलाई मूर्त रूप दिन, राजधानी काठमाडौंमा भोलिबाट दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ — ‘फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५’। दरबारमार्गस्थित होटल याक एण्ड यतिमा हुने उक्त सम्मेलनमा १४ देशका सुरक्षा विज्ञहरू, नीति निर्माता, सुरक्षाकर्मी, तथा व्यवसायीहरूको सहभागिता रहनेछ। आयोजक एशिया प्यासिफिक सेक्युरिटी एसोसिएसन (आप्सा) नेपाल का अनुसार तयारी पूरा भइसकेको छ। आप्सा नेपालका अध्यक्ष सुनिल कुमारका अनुसार, विद्युतीय सुरक्षा र आगलागी न्यूनीकरणको क्षेत्रमा विश्वका उत्कृष्ट प्रविधि र अभ्यास यस सम्मेलनमा प्रस्तुत हुनेछन्। सम्मेलनको उद्घाटन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गर्ने कार्यक्रम रहेको छ। गृह तथा सहरी विकास मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ७५३ वटै स्थानीय तहका प्रतिनिधिहरूको सहभागिताले यो सम्मेलनलाई नीतिगत र कार्यान्वयन पक्ष दुवैमा प्रभाव पार्ने विश्वास गरिएको छ। भारत, चीन, जापान, दक्षिण कोरिया, मलेसिया, थाइल्यान्ड लगायत देशका विज्ञहरूले आफ्ना कार्यपत्रहरू र इनोभेटिभ समाधानहरू प्रस्तुत गर्नेछन्। प्रर्दशनी सत्र, छलफल, र अन्तरक्रियामार्फत सहभागीहरूले अन्तर्राष्ट्रिय अनुभवको प्रत्यक्ष झल्को पाउनेछन्। कार्यक्रम निर्देशक सुरेश श्रेष्ठ भन्छन्, “हामी समस्याबाट हैरान हुने भन्दा समाधानतर्फ सोच्ने दिशामा लागेका छौं।” उनी भन्छन्, यस्तो सम्मेलनले सुरक्षा नीतिमा दीर्घकालीन सुधार ल्याउने सम्भावना बोकेको छ। नेपालमा हरेक वर्ष हुने आगलागीका घटनाबाट लाखौँको क्षति हुने गरे पनि, प्रविधिमैत्री समाधान र समुदाय तहसम्मको सचेतना अझै कमजोर छ। यही चुनौती समाधान गर्न, यो सम्मेलन सरकार र समुदायबीचको पुल बन्ने अपेक्षा गरिएको छ।