काठमाडौं, २० चैत । नयाँ वर्ष २०८२ को स्वागत भव्य रूपमा गर्न भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्समा विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। चर्चित गायक रामकृष्ण ढकाल एण्ड ब्याण्डको प्रस्तुतिसहित ‘न्यु इयर इभ एट जर्मन होम्स’ नाम दिइएको यो कार्यक्रम चैत ३१ गते रातभर धुमधामले मनाइनेछ। सांगीतिक माहोललाई झन् मनोरञ्जनात्मक बनाउन नेपालकी चर्चित उद्घोषिका तथा नायिका रीमा विश्वकर्माले कार्यक्रम सञ्चालन गर्नेछिन्। कार्यक्रममा ढकालका लोकप्रिय गीतहरूका अलावा अन्य राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ। साथसाथै कमेडी, साल्सा नृत्य, र डीजे सेसनले दर्शकलाई अतिरिक्त मनोरञ्जन दिनेछ। जर्मन आर्किटेक्चरमा निर्मित अत्याधुनिक हलको उद्घाटनसमेत यसै अवसरमा गरिनेछ। करिब १५०० देखि २००० दर्शकलाई सहभागी गराउने लक्ष्यसहित कार्यक्रमको तयारी तीव्र रूपमा भइरहेको आयोजकले जनाएको छ। कार्यक्रमलाई अझ रोमाञ्चक बनाउन सहभागीहरूमध्ये एक भाग्यशाली विजेताले थाइल्यान्ड ट्रिप जित्ने अवसर पाउनेछन्। साथै, अन्य आकर्षक उपहारहरू पनि प्रदान गरिनेछ। कार्यक्रमका लागि चैत २२ गतेदेखि खल्ती एपमार्फत टिकट बुकिङ गर्न सकिनेछ भने स्थलमै पनि टिकट उपलब्ध गराइनेछ। भक्तपुरको गठ्ठाघरमा चार वर्षदेखि उत्कृष्ट आतिथ्य सेवा प्रदान गरिरहेको जर्मन होम्स होटल एण्ड इभेन्ट भेन्यु ले यसपटक नयाँ वर्षलाई विशेष बनाउन यो भव्य कार्यक्रम आयोजना गर्न लागेको हो। नयाँ वर्षलाई साङ्गीतिक वातावरणमा स्वागत गर्न इच्छुक सबैलाई उपस्थित हुन आयोजकले आग्रह गरेको छ।