+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मनोरञ्जन

साहित्यमा नयाँ   तरङ्ग, बैंकर कार्कीको ‘इजाजतपत्र’ पाठकमाझ लोकप्रिय

‘इजाजतपत्र’ जस्ता गहन विषयवस्तु समेट्ने कृतिहरू नेपाली साहित्यमा कमै लेखिन्छन्। यसले पाठकलाई राज्य, समाज र व्यवस्थासँग पुनर्विचार गर्न प्रेरित गर्ने लेखक कार्कीको विश्वास छ।

जनवाच
३ हप्ता अगाडी

काठमाडौं – बैंकिङ क्षेत्रका अनुभवी सार्थक कार्कीले आफ्नो साहित्यिक पहिचान ‘इजाजतपत्र’ मार्फत स्थापित गरेका छन्। नेपाल राष्ट्र बैंकका उपनिर्देशक कार्कीको यो पहिलो उपन्यास छोटो समयमा नै पाठकमाझ लोकप्रिय बन्न सफल भएको छ। केही समय अगाडि थुप्रै डटकममा सर्वाधिक बिक्री हुने २५० पुस्तकहरूको सूचीमा परेको ‘इजाजतपत्र’ अहिले १२औँ स्थानमा उक्लिन सफल भएको छ।

गत असारमा सार्वजनिक भएको कार्कीको कृति ३५ सयभन्दा बढी पुस्तकहरूमध्ये सर्वाधिक बिक्री हुने सूचीमा समेटिनु उनको लेखनशैलीप्रतिको आकर्षण दर्शाउँछ। साग्रिला बुक्सबाट प्रकाशित उपन्यासको अडियो संस्करण समेत उपलब्ध गराइएको छ, जसलाई एम्बिसन गुरु एपमार्फत सुन्न सकिन्छ।

कार्कीको ‘इजाजतपत्र’ केवल मनोरञ्जनात्मक आख्यान मात्र होइन, यसले दर्शन, राजनीति र समाजको गहिरो विश्लेषण गर्दछ। पुस्तकले ‘राज्य नागरिकको अभिभावक हो कि साथी? शासक हो कि सेवक?’ भन्ने जटिल प्रश्नहरूमाथि विमर्श प्रस्तुत गरेको छ।

इतिहासतर्फ दृष्टि लगाउँदा, उपन्यासले राणाशासनका बेला लेख रचना प्रकाशित गर्न परेका संघर्षहरू उजागर गरेको छ। ‘गोरखा भाषा समितिबाट स्वीकृति नलिई कुनै पनि सामग्री प्रकाशित गर्न नपाइने समयको परिप्रेक्ष्य समेटेर लेखिएको छ,’ लेखक कार्की बताउँछन्।

कार्कीका अनुसार, उपन्यासले प्रख्यात दार्शनिक जाँ-ज्याक रुसोको विचारबाट प्रेरणा लिएको छ। समाजमा विद्यमान कानुनी जटिलता, शासन प्रणालीको प्रभाव, तथा नागरिक स्वतन्त्रताको सन्दर्भमा पुस्तकले गहिरो बहस गरेको छ। पुस्तकमा शासन व्यवस्थामाथि आलोचनात्मक दृष्टिकोण राख्दै भ्रष्ट्राचार, कानुनी अन्याय, तथा नीति निर्माणका कमजोर पक्षहरूमाथि प्रकाश पारिएको छ।

‘देशको कानुनी संरचना संविधानमा मात्र सीमित छ, व्यवहारमा भने शक्तिशालीहरूकै नियन्त्रणमा छ,’ लेखक बताउँछन्। उनको भनाइमा, राज्य व्यवस्थाले जनता होइन, सत्तामा रहेका व्यक्तिहरूलाई बढी सुरक्षा दिने प्रवृत्ति विकास गरिरहेको छ।

‘इजाजतपत्र’ प्रति पाठकहरूको सकारात्मक प्रतिक्रियाले लेखकलाई उत्साहित बनाएको छ। धेरैले पुस्तकलाई अंग्रेजीमा अनुवाद गर्न आग्रह गरेकाले कार्की अब उपन्यासलाई अंग्रेजीमा उपलब्ध गराउने योजनामा छन्। ‘पश्चिमी दर्शनसँग सम्बन्धित भएकाले उपन्यासले अन्तर्राष्ट्रिय स्तरमा पनि पाठकहरू माझ स्थान बनाउन सक्छ,’ कार्की विश्वास गर्छन्।

बैंकिङ पृष्ठभूमिबाट आएका कार्कीले आफ्नो करिअरसँगै साहित्यिक यात्रालाई पनि निरन्तरता दिने बताएका छन्। ‘लेखन मेरो रुचि मात्र होइन, समाजलाई सन्देश दिने माध्यम हो,’ उनी भन्छन्। भविष्यमा थप कृतिहरू लेख्ने योजना रहेको बताउँदै उनले साहित्यलाई आफ्नो दीर्घकालीन यात्राको अभिन्न हिस्सा बनाउने उल्लेख गरेका छन्।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ