+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मनोरञ्जन

‘फेरि रेशम फिलिली’ को संयोग : चलचित्रसँगै भूकम्पको चर्चा किन?

जनवाच
२ महिना अगाडी

काठमाडौं, १६ फागुन । नेपाली चलचित्र ‘फेरि रेशम फिलिली’ प्रदर्शनमा आएसँगै अनौठो संयोग फेरि दोहोरिएको छ। फिल्म हलमा लाग्ने बित्तिकै भूकम्प गएको संयोगले यसपटक पनि दर्शक र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबीच उत्सुकता जगाएको छ।

शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भोटेकोशी केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गयो। भूकम्पको झड्का बलियो भए पनि कुनै ठूलो क्षति भने भएन। तर, सामाजिक सञ्जालमा ‘रेशम फिलिली’ र भूकम्पबीचको अनौठो सम्बन्धबारे चर्चा सुरु भयो। हास्यकलाकार केदारप्रसाद घिमिरे (माग्नेबुढा) ले समेत यस विषयमा व्यंग्य गर्दै सामाजिक सञ्जालमा लेखे, ‘रेशम फिलिली’ भुइँचालोको सम्बन्ध के हो?’

सन् २०१५ (वि.सं. २०७२) मा प्रदर्शनमा आएको ‘रेशम फिलिली’ त्यतिबेला चर्चित गीत ‘जालमा’ का कारण दर्शकमाझ निकै लोकप्रिय भएको थियो। फिल्मले राम्रो सुरुआत गरे पनि प्रदर्शनको दोस्रो दिन अर्थात् वैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प गएपछि चलचित्र नै प्रभावित भएको थियो।

अब, नौ वर्षपछि यसको सिक्वेल ‘फेरि रेशम फिलिली’ प्रदर्शनमा आएको छ, र फेरि भूकम्पको संयोग जुरेको छ। यस घटनाले सामाजिक सञ्जालमा ट्रोल र मजाकको नयाँ लहर ल्याएको छ।

महाशिवरात्रिको दिनबाट प्रदर्शनमा आएको ‘फेरि रेशम फिलिली’ ले औसत व्यापार गरिरहेको बताइन्छ। नेपालीहरूको अमेरिका मोहको कथामा बनेको यो चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरसिया, नीर शाह, लक्ष्मी गिरी, महेश त्रिपाठी, प्रकाश घिमिरे, रविन्द्र झालगायतका कलाकारको अभिनय छ। चलचित्रलाई निरोज महर्जनले निर्देशन गरेका हुन् भने रौनक विक्रम कँडेल निर्माता रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ