काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले चलचित्रलाई समाज परिवर्तनको सशक्त माध्यमका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्। नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बोल्दै उनले चलचित्रले सत्यको जित देखाउँदै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सक्ने बताए।
मन्त्री पाण्डेले पछिल्लो समय पाको पुस्ताले निराशाको व्यापार गरिरहेको भन्दै नयाँ पुस्तालाई आशावादी बनाउनुपर्ने धारणा व्यक्त गरे। “हामीले युवालाई के सिकाउने? निराशा होइन, आशा र सकारात्मकता सिकाउनुपर्छ,” उनले जोड दिए।
उनका अनुसार कला र चलचित्र कुनै भाषा विशेषमा सीमित हुँदैन। “भाषा नबुझे पनि भावना बुझ्न सकिन्छ, यही कारण चलचित्र समाजलाई सही दिशा दिन सक्छ,” उनले भने।
मन्त्री पाण्डेले नेपाली चलचित्र उद्योगमा गुणात्मक सुधार आएको दाबी गर्दै अर्बौं कमाइ गर्न सक्ने चलचित्र उत्पादनको सम्भावना रहेको बताए। “नेपालमा दर्जनौं ब्लकबस्टर फिल्म बनाउन सकिन्छ, जसले अर्थतन्त्रलाई टेवा दिन्छ,” उनले भने।
नेपाललाई खुला संग्रहालय को संज्ञा दिँदै उनले नेपालका हिमाल, बस्ती र संस्कृति विदेशी फिल्म निर्माताहरूका लागि आकर्षक गन्तव्य बन्न सक्छ भन्ने बताए। “हामीले विदेशी चलचित्रलाई नेपालमा छायांकन गर्न प्रोत्साहित गर्नुपर्छ,” उनले उल्लेख गरे।
चलचित्र नेपालका प्राकृतिक सौन्दर्य, संस्कृति र सम्पदालाई विश्वसामु चिनाउने प्रभावशाली माध्यम भएको मन्त्री पाण्डेले बताए। साथै, उनले सरकार चलचित्र निर्माणमा आवश्यक नीति तथा पूर्वाधार विकास गर्न तयार रहेको प्रतिबद्धता जनाए।
नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विभिन्न देशका फिल्म निर्माता, कलाकार तथा कलाप्रेमीहरूको सहभागिता रहेको थियो। महोत्सवले नेपाल र अफ्रिकी मुलुकहरूबीच सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।