+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नाफा/घाटा

बाढीपहिलोको क्षती बढ्दा निर्जीवन बीमा कम्पनीको नाफा ६० प्रतिशतले घट्यो

जनवाच
२ महिना अगाडी

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको नाफामा ५९.३८ प्रतिशतले गिरावट आएको छ । खासगरी गत असोजमा आएको वेमौसमी वर्षा अनि बाढीपहिरोका कारण ठूलो जनधनको क्षती हुँदा बीमा बापतको माग दाबी बढ्दा यसको असर बीमा कम्पनीकोहरुको नाफामा परेको हो ।

कम्पनीहरुले बुधबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस वर्ष नाफा घटेर एक अर्ब २५ करोड ८४ लाख ४५ हजार रुपैयाँमा झरेको छ । जबकी अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३ अर्ब ९ करोड ७८ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।
हाल १४ निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् ।

बाढी पहिरोले भौतिक सम्पत्तिमा ठूलो क्षति पुर्‍याउँदा सोबाट हालसम्म १२ अर्ब ७८ करोड २४ लाख रुपैयाँको माग दाबी परेको बीमा प्राधिकरणले जनाएको छ । त्यसमा दुई अर्ब ५० करोड २० लाख रुपैयाँ दावी भुक्तानी भइसकेको छ ।

बाढीले बीमा दावी बढाउने भएपछि कम्पनीहरु जोखिमबापत राख्नुपर्ने प्रोभिजनिङ रकम बढाउन परेको छ । सोही कारण कम्पनीहरुको नाफा प्रभावित भएको हो ।

कुन कम्पनीको नाफा बढ्यो, कसको घट्यो ?
सार्वजनिक रिपोर्ट अनुसार समीक्षा अवधीमा दुई वटा कम्पनी घाटामा गएका छन् । दि ओरियन्टल १९ करोड ७५ लाख ४१ हजार रुपैयाँ र नेशनल इन्स्योरेन्स ३६ करोड ९८ लाख ६८ हजार रुपैयाँले घाटामा गएका छन् । यी बाहेक अन्य कम्पनी नाफामा छन् । तथापि, नाफामा रहेका कम्पनीहरुमध्ये पनि अधिकांशको नाफा घटेको छ ।

समीक्षा अवधीमा राष्ट्रिय बीमा कम्पनीले सबै भन्दा धेरै नाफा कमाएको छ । उक्त कम्पनीको नाफा ३४ करोड ६६ लाख ८८ हजार रुपैयाँ देखिएको छ । तर, यो गत आवको सोही अवधीको तुलनामा १८.३६ प्रतिशतले कम हो । गत आवको सोही अवधीमा यस कम्पनीको नाफा ४२ करोड ७२ लाख ५८ हजार रुपैयाँ थियो ।

दोस्रो स्थानमा शिखर इन्स्योरेन्स देखिएको छ । उक्त कम्पनीले समीक्षा अवधीमा २५ करोड ७३ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधीको तुलनामा २.४८ प्रतिशतले बढी हो । गत आवको यसै अवधीमा कम्पनीले २५ करोड ११ लाख १२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

तेस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियरले २२ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । तर, यो गत आवको सोही अवधीको तुलनामा ३७.६७ प्रतिशत कम हो । गत आवको ६ महिनामा कम्पनीले ३६ करोड नौ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, हिमालयन एभरेष्टले १५ करोड ९८ लाख ७४ हजार रुपैयाँ, नेकोले १५ करोड ६० लाख ३० हजार रुपैयाँ, आईजीआई प्रुडेन्सीयलले १४ करोड ३० लाख ९७ हजार रुपैयाँ, सानिमा जीआईसीले १२ करोड १६ लाख ९८ हजार रुपैयाँ, प्रभुले १२ करोड ४९ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले आठ करोड ६० लाख २७ हजार रुपैयाँ, एनएलजीले सात करोड ४५ लाख तीन हजार रुपैयाँ, युनाइटेड अजोडले ६ करोड ९६ लाख ८३ हजार रुपैयाँ र सगरमाथा लुम्बिनीले ६ करोड ५८ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ