काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा विराटनगर किङ्सले लुम्बिनी लायन्सलाई हराउँदै पहिलो जित दर्ता गरेको छ । लुम्बिनीले दिएको १९२ रनको लक्ष्य विराटनगरले १ बल बाँकी छँदा ८ विकेट गुमाएर पूरा गर्ने क्रममा खेल निकै रोमाञ्चक हुन पुगेको थियो ।
हाइस्कोरिङ थ्रिलरमा लुम्बिनीलाई विराटनगरले दुई विकेटले हराएको हो । दुवै तर्फबाट रन वर्षा भएको खेलको अन्त्यमा स्कटल्यान्डका क्रिस सोल चक्किएका थिए । नवौं विकेटका रुपमा सोल क्रिजमा आउँदा बिराटनगरलाई ४ बलमा १३ चाहिएको थियो । उनले विवेक यादवलाई एक छक्का र दुई चौका हान्दै लुम्बिनीलाई स्तब्ध बनाए ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सलाई पराजित गरेको छ । लगातार दुई हारपछि पहिलो जित निकाल्दा लुम्बिनी पहिलो खेलमै पराजित भयो । विराटनगरका लोकेश बमले अर्धशतक पूरा गरेका छन् ।
१२.४ ओभरमा ३६ बलमा २ चौका ४ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका उनले कुल ७१ रन बनाउन सफल भए । अर्धशतक बनाउने लोकेश सातौं खेलाडी हुन् । यसअघि जनकपुरका लाहिरु मिलान्था, विराटनगरका मार्टिन गप्टिल, जनकपुरका अनिल शाह, सुदूरपश्चिमाका दिपेन्द्र सिंह ऐरी र चितवनका रवि बोपारा र कर्णालीका शिखर धवनले अर्धशतक प्रहार गरेका थिए ।