काठमाडौं । सहकारी ठगी मुद्दा गत कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वमन्त्री रवि लामिछानेलाई आज काठमाडौं ल्याइएको छ । स्वर्णलक्ष्मी सहकारीको बचत रकम ठगीको मुद्दामा जिल्ला अदालत काठमाडौंमा बयान लिन लामिछानेलाई बिहीबार काठमाडौं ल्याइएको हो ।
तथापि, आज बयान नभएकाले लामिछानेलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई राखिएको ठाउँमा नै सभापति लामिछानेलाई राखिएको छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयान लिन उनलाई पोखराबाट काठमाडौँ ल्याइएको हो ।
सो सहकारीको रकम अपचलनबारे पूर्वडीआईजी छविलाल जोशीसँग प्रहरीले बयान लिइसकेको छ । कारागार कार्यालय कास्कीमा थुनामा रहेका कुमार रम्तेललाई पनि काठमाडौँमा ल्याएर बयान लिइएको छ । ओखलढुंगा घर भएका रम्तेल स्वर्णलक्ष्मी सहकारीका पनि कोषाध्यक्ष हुन् ।
वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीबी राई हुन् । रकम अपचलनबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । २७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।