काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यहीँ मंसिर १७ गते चीन भ्रमणमा जाने भएका छन् । आफ्नो तेस्रो कार्यकालको दोस्रो अन्तर्राष्ट्रिय भ्रमणको रुपमा चीन जान लागेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि छ्याङ्सँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् । मंसिर १८ गते प्रधानमन्त्री ओलीले सी जिनपिङ र लि छ्याङ्सँग भेट गर्नेछन् ।
यसैगरी मंसिर १९ गते बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनेछन् भने नेपाली तथा चिनियाँ उद्योगी व्यवसायीहरुसँगको छलफलमा समेत प्रधानमन्त्री सहभागी हुने कार्यक्रम रहेको छ । मंसिर २० गते उनी स्वदेश फर्किने छन् ।
यो परराष्ट्र मन्त्रालयले तयार पारेको प्रस्तावित तालिका हो । तथापि, मन्त्रिपरिषद बैठकले पारित गर्न बाँकी छ । त्यसैले यसमा केही हेरफेर र कार्यक्रम थपघट हुनपनि सक्ने मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीभन्दा केही दिन अगाडि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा चीन जाने तयारी छ । सम्भवतः परराष्ट्रमन्त्री राणा १३ गते नै बेइजिङ जानेछिन् । उनले १४ गते चिनियाँ समकक्षी वाङ यीसहित चिनियाँ नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।