काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमास (साउनदेखि कात्तिकसम्म) करिब १७ प्रतिशतले राजस्व संकल वृद्धि भएको सरकारले दाबी गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्म जम्मा दुई खर्ब ७६ अर्ब रुपियाँ राजस्व संकलन भएकोमा यो वर्ष तीन खर्ब २३ अर्ब २४ करोड रुपियाँ उठेको अर्थमन्त्रालयले जनाएको हो ।
अर्थ मन्त्रालय अन्तर्गतको उच्च व्यवस्थापन समितिको बिहीबारको बैठकमा यस्तो तथ्य प्रस्तुत गरिएको हो । तथापि, समीक्षा अवधिमा लक्ष्यअनुसार राजस्व उठाउन भने नसकिएको मन्त्रालयले स्वीकारेको छ ।
पछिल्लो पाँच वर्षको राजस्व परिचालनको तुलनात्मक अवस्थालाई हेर्दा आर्थिक वर्ष २०७६/७७ मा रु ११ खर्ब १२ अर्ब तीन करोड लक्ष्य रहेकोमा ७१ दशमलव ३८ प्रतिशत मात्र प्रगति भएको थियो ।
यसैगरी आव २०७७र७८ मा रु १० खर्ब ११ अर्ब ७६ करोड लक्ष्य राखिएकोमा अधिकतम ९२.५० प्रतिशत लक्ष्य हासिल भएको थियो । यस्तै आव २०७८/७९ मा रु ११ खर्ब ८० अर्ब ६० करोड राजस्व सङ्कलनको लक्ष्य राखिएकोमा ९०.२४ प्रतिशत उपलब्धी हासिल भएको थियो भने आव २०७९/८० मा रु १४ खर्ब तीन अर्ब १५ करोडको लक्ष्यमा ६८.२३ प्रतिशत र गत आव २०८०/८१ मा रु १४ खर्ब २२ अर्ब ५४ करोड राजस्व सङकलनको लक्ष्य रहेकामा ७४.५४ प्रगति भएको थियो ।
चालु आवको वार्षिक लक्ष्यमा रु १४ खर्ब १९ अर्ब ३० करोड संकलन गरिएको मन्त्रालयले जनाएको छ । यो लक्ष्य भनेको गत आवको यथार्थ असुलीको तुलनामा करिब ३४ प्रतिशतको वृद्धि हो ।
यसैमध्ये चालु आवको प्रथम चार महिना (साउन, भदौ, असोज र कात्तिक) मा रु ४ खर्ब ६ अर्ब ३७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा रु ३ खर्ब २३ अर्ब २४ करोड अर्थात् लक्ष्यको करिब ८० प्रतिशत राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । यो गत वर्षको यसै अवधिको राजस्व सङ्कलनको तुलनामा १६.८५ प्रतिशतले बढी हो ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व स्कलनको लक्ष्य प्राप्त गर्न स्रोत र खर्च व्यवस्थापन महत्वपूर्ण रहेको उल्लेख गर्दै करको दायरा विस्तार, बक्यौता असुली, कर प्रशासनको प्रभावकारिता, कर्मचारीको आचारण, अन्तरमन्त्रालय समन्वय, भन्सार विन्दुभन्दा बाहिरका गतिविधि, कर प्रशासनमा सिर्जना गर्न खोजिएका चुनौती लगायत पक्षलाई ध्यान दिएर अघि बढ्न आवश्यक रहेको बताए।
सोही अवसरमा अर्थमन्त्री पौडेलले कर सङ्कलन प्रणाली तोड्न (सिस्टम ब्रेक) खोज्नेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न समेत निर्देशन दिए।
अर्थ सचिव डा।रामप्रसाद घिमिरेले राजस्वको लक्ष्य पूरा गर्ने गरी मन्त्रालय अघि बढ्ने बताउँदै राजस्व सङ्कलन रणनीति कार्यान्वयनमा जोड दिए । उनले राजस्वको लक्ष्य प्राप्त गर्न सरोकार भएका सबैले थप मेहनतका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
अर्थ मन्त्रालयमा प्रवक्ता महेश भट्टराईले विगतको तुलनामा राजस्व सङ्कलन वृद्धि भए पनि चालु आवको लक्ष्य पूरा गर्न कर प्रशासनसँग सम्बन्धित सबै पक्षबीच समन्वय र सहयोग जरुरी रहेको जिकिर गरे ।
भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनी र आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले राजस्व सङ्कलनका क्षेत्रमा देखा परेका अवसर र कमजोरीलाई ख्याल गर्दै राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न आफूहरूले सक्दो पहल गरिरहेको बताए ।