काठमाडौं । नबिल बैंकले मर्जरका लागि पुनः बाटो खुला गर्ने भएको छ । यहीँ मंसिर २७ गते कम्पनीको ४० औं वार्षिक साधारण सभा डाक्दै कम्पनीले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि उपसमिति गठन गर्ने निर्णय गरेको हो ।
बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार बैंकको वार्षिक सधारण सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौंमा मंसिर २७ गते बिहान १० बजेदेखि शुरु हुनेछ ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सोसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा गत आवमा संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव गरिएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मंसिर ९ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया