काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले कात्तिक १२ गतेदेखि ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्य दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।
एफपीओमा लगानीकर्ताले आजसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । तोकिएको समयभित्र पूर्ण आवेदन नपरेमा आवेदन दिने समय कात्तिक २६ गतेसम्म लम्बिने लघुवित्तले जनाएको थियो ।
तथापि, सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबार साँझ पौने सात बजेसम्म १ करोड ७७ लाख २३ हजार २२० कित्ताका लागि लगानीकर्ताले आवेदन दिएका छन्, जुन अत्यधिक बढी हो ।
साविकको मनकामना स्मार्ट लघुवित्तलाई गाभेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पुँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्नुपर्ने भएकाले एफपीओ जारी गरेको हो ।
लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
हाल ५६ करोड ४० लाख रुपैयाँ रहेको लघुवित्तको चुक्ता पुँजी एफपीओ निष्काशनपश्चात् ५९ करोड ९० लाख रुपैयाँ पुग्नेछ ।