काठमाडौँ- कोशी प्रदेशको इटहरीमा अवस्थित पाँचतारे स्तरको लक्जरी होटेल सोल्टी वेस्टेन्ड इटहरी को स्वामित्व कम्पनी होटल गरिमा लिमिटेड अब पूँजी बजारमार्फत आमनागरिकको लगानीमा प्रवेश गर्दैछ। कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को रणनीतिक तयारीका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड सँग ‘रोडम्याप टु आईपीओ’ सम्झौता गरेको छ। शुक्रवार काठमाडौँमा आयोजित औपचारिक समारोहमा होटल गरिमाका प्रबन्ध निर्देशक विनोद पौडेल र एनआईएमबी एस क्यापिटलका डेपुटी सीईओ सचिन्द्र ढुंगाना बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। होटल गरिमा लिमिटेडले आतिथ्य सत्कार क्षेत्रको अनुभूति लिएर अब निजी स्वामित्वबाट सार्वजनिक स्वामित्वतर्फको बाटो समातेको छ। कम्पनीको भनाइमा, आईपीओ प्रक्रिया पारदर्शिता, संस्थागत सुदृढीकरण र दिगो विस्तार को दृष्टिकोणसहित अगाडि बढाइएको हो। एनआईएमबी एस क्यापिटल लिमिटेडले यस यात्रामा कर्पोरेट सल्लाहकारको भूमिकामा रही कम्पनीलाई नियामक समन्वय, संरचनागत सुधार तथा सार्वजनिक निष्काशनको सम्पूर्ण पूर्वतयारीमा रणनीतिक र प्राविधिक मार्गदर्शन प्रदान गर्नेछ। सम्झौतापछि प्रबन्ध निर्देशक पौडेलले होटल गरिमा लिमिटेडले पूँजी बजार प्रवेश गर्नुले आतिथ्य उद्योगमा निजी–सार्वजनिक सहभागिताको नयाँ सम्भावना खोल्ने बताए। “हामी पारदर्शिता र व्यवसायिक उत्कृष्टता मार्फत देशको आतिथ्य उद्योगमा लगानीको आकर्षण बढाउनेछौं,” उनले भने। एनआईएमबी एस क्यापिटलका डेपुटी सीईओ ढुंगानाले आईपीओ प्रक्रिया सफल बनाउन आवश्यक सम्पूर्ण सल्लाह र सेवा उपलब्ध गराइने बताए। उनले होटल गरिमा लिमिटेडसँगको सहकार्य नेपालको आतिथ्य उद्योगको संस्थागत विस्तारतर्फ महत्वपूर्ण कदम हुने विश्वास व्यक्त गरे। इटहरी उपमहानगरपालिकास्थित होटल गरिमाको आईपीओ योजना कोशी प्रदेशको आर्थिक र पर्यटकीय सम्भावनासँग गासिएको एक महत्वाकांक्षी पहल हो। यो प्रयासले इटहरी तथा आसपासको क्षेत्रलाई व्यवसायिक लगानी केन्द्र बनाउने दिशामा थप विश्वास निर्माण गर्ने देखिन्छ।