बुटवल । अर्घाखाँचीमा बसको ठक्करबाट तिहारको देउसी भैलो खेलिरहेका दुई जनाको मृत्यु भएको छ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ५ र ६ वडाको सीमाना जयठाटीमा सोमबार बेलुका करिब ५ बजे देउसी भैलो खेलिरहेको स्थानमा ना ३ ख २४७१ नम्बरको बसको ब्रेक फेल भएपछि दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र दुई दर्जन बढी घाइते हुन पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको हो ।
मृत्यु हुनेमध्ये २२ वर्षीया तारा श्रेष्ठको सनाखत भएको छ भने एक जनाको सनाखत हुन बाँकी छ ।
बसको एक्कासि ब्रेक फेल भइ बाटोमा भैलो खेलिरहेका समूहलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । घटनास्थलमै एक जना महिलाको ज्यान गएको र उपचारको क्रममा तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । साविक खिल्जी र असुरकोट गाविस हाल वडा नम्बर ५ र ६ को सीमाना जयठाटीमा १५/१६ भैलोका टिम नाच्ने परम्परा रहेको घटनास्थलबाट स्थानीय गणेश प्रसाद भण्डारीले बताए ।