काठमाडौं । रोयल इन्फिल्ड नेपाल (अल्फा अटोमोटिभ) ले नेपाली राइडर दीपक शाहलाई सम्मान गरेको छ । भारतमा सम्पन्न रैली अफ हिमालयाजको चौथो संस्करणमा विजयी भएका राइडर शाहलाई बुधबार एक कार्यक्रमकाबीच रोयल इन्फिल्डले सम्मान गरेको हो। काठमाण्डौको एटिक रेष्टुरेन्टमा आयोजित समारोहमा शाहलाई खादा, सम्मान पत्र र नगदसहित सम्मान गरेको हो ।
रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर शाहले कठिन भू–भाग र चुनौतीपूर्ण मौसमको सामना गर्दै ग्रुप डी अर्थात रोयल इन्फिल्ड क्लासमा प्रथम स्थान हासिल गरेका थिए। उक्त इभेन्टमा विश्वभरका शीर्ष राइडरहरूले भाग लिएका थिए।
जसमा करिब ६ सय किलोमिटरको दुरीमा पर्ने हिमालचल प्रदेशस्थित मनालीदेखि स्पिति भ्यालीसम्मको यात्रा समेटिएको थियो। उक्त इभेन्टमा सहभागीहरूले उचाइमा रहेको कुन्जुम पास समेत पार गरेका थिए।
समारोहमा हिमालयन एक्स्ट्रिम मोटरस्पोर्ट्सका प्रमुख सुरेश रानाले दीपकलाई ट्रफी हस्तान्तरण गरे। दीपकले नेपाली पहिचान ढाका टोपी र राष्ट्रिय झन्डाका साथ ट्रफी ग्रहण गरे। आफ्नो विजयपश्चात शाहले भने, ‘नेपालको प्रतिनिधित्व गर्दै यो प्रतिष्ठित इभेन्टमा विजयी बनेकोमा गर्व महसुस गरेको छु। रोयल इन्फिल्ड हिमालयन ४११ चलाउँदा मैले हिमालयका चुनौतीपूर्ण भू–भागमा पनि आत्मविश्वास अनुभव गरेँ’ उनले भने ।
दीपक शाहको यो यात्रा मोटरस्पोर्ट्सप्रतिको उनको दीर्घकालीन उत्साहको नतिजा हो। उनी २०१७ र २०१८ मा रेड डी हिमालय, र २०२२ मा रैली अफ चाम्बामा समेत सहभागी भइसकेका छन्। उनले सन् २०१८ मा रोयल इन्फिल्ड क्याटागोरीमा रेड डी हिमालय र रैली अफ चाम्बा जितेका थिए।
रोयल इन्फिल्ड हिमालयन ४११, ४११ सीसी इन्जिन क्षमताको बाइक, यस्तो साहसिक यात्राका लागि विशेषतः डिजाइन गरिएको छ। कठिन भू(भागमा स्थायित्व र कठिन परिस्थितिमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम भएकाले यो बाइक साहसिक यात्राका लागि विश्वभर लोकप्रिय छ।
रैली अफ हिमालयाज संसारकै चुनौतीपूर्ण मोटरस्पोर्ट इभेन्टहरूमध्ये एक हो, जसले राइडरहरूको शारीरिक, मानसिक सहनशीलता र मोटरसाइकलको क्षमता परीक्षण गर्छ। हिमालय क्षेत्रको खतरनाक र मनमोहक मार्गमा हुने यस रैलीले साहस, मित्रता र प्रकृतिसँगको सम्बन्धलाई विशेष महत्व दिन्छ।