+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षा

इँटाभट्टाको खलाबाट ४ जिपिएसम्मको यात्रा : डाक्टर बन्ने सपना बोकेकी गोमा श्रेष्ठ

गोमा श्रेष्ठ अहिले हजारौं संघर्षरत किशोरीहरूका लागि प्रेरणाको नाम बनेकी छिन्। उनका आँखामा आशा छ, आत्मविश्वास छ, र एउटा स्पष्ट सपना छ,एकदिन डाक्टर बनेर जन्मदाता र मातृभूमिको ऋण तिर्छु।

जनवाच
५ घण्टा अगाडी

१६ असार, भक्तपुर ।जस्ताको टहरामा बसोबास, खलाको इँटा ओल्ट्याउदै हुर्किएको बाल्यकाल र ज्यालादारी जीवनका बीच एक किशोरीको संघर्षले शुक्रबार साझ समर्पण र सपनाको परिभाषा फेरियो। भक्तपुर चाँगुनारायण–८ सुडालस्थित एक इँटाभट्टामा हुर्किएकी गोमा श्रेष्ठले एसईई परीक्षामा ४ जिपिए ल्याउदै सबैलाई चकित बनाइन्।

रामेछापको खनियापानीबाट केवल पढाइका लागि परिवारसहित भक्तपुर झरेकी गोमा अहिले चाँगुनारायण नगरकै उत्कृष्ट विद्यार्थी बनेकी छन्। उनी अध्ययनरत महेन्द्रग्राम माध्यमिक विद्यालयकी उनले कक्षा १ देखि १० सम्म पढेकी हुन्।

गोमाको बाल्यकाल किताब र कलमसँगभन्दा पनि इँटाभट्टाको खलासँग धेरै नजिक थियो। बिहान–साँझ बुबाआमासँग मिलेर इँटा सुकाउने काम गर्ने, दिउँसो भने विद्यालय जाने गोमाको दैनिकी संघर्षमै बग्थ्यो। कक्षा ९ सम्म उनी यही तालमा चलिन्। तर कक्षा १० मा भने उनले आफ्नो दैनिकीमा मोड ल्याइन ढाइलाई पहिलो प्राथमिकता दिइन्।

गोमाको भनाइमा, “बुबाआमाले भन्नुहुन्थ्यो, एक वर्ष धेरै पढ, पछि सजिलो हुन्छ। मलाई थाहा थियो—एसईई एक मोड हो, त्यसैले मैले खटेर पढेँ।” त्यस मेहनतको नतिजा ४ जिपिएमा परिणत भयो।

भविष्यमा डाक्टर बन्ने लक्ष्य राखेकी गोमा प्लस टु विज्ञान सङ्कायमा छात्रवृत्तिबाट भर्ना हुने सपना देखिरहेकी छन्। उनी भन्छिन्, छात्रवृत्तिबाट एमबिबिएस पढ्नेछु, त्यसपछि देश र जनताको सेवा गर्ने छु।

बुबा मीनबहादुर श्रेष्ठका अनुसार, गोमाको पढाइको सपना पूरा गराउने लक्ष्यले उनीहरू रामेछाप छाडेर भक्तपुर आएका थिए। गाउँको विद्यालय टाढा थियो, छोरीको पढाइको सपना पुरा होस् भनेर हामी इँटाभट्टामा काम गर्न आएका थियौं, मीनबहादुरले भावुक हुँदै सुनाए।

सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने गोमाको सफलताले हामीलाई स्मरण गराउँछ—परिश्रम, समर्पण र सपनाको मेल हुँदा खलाबाट पनि आकाश छुन सकिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ