१६ असार काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको श्रम बजार दिनप्रतिदिन विदेशी कामदारले कब्जा गरिरहेको चिन्ता व्यक्त गरेका छन्। काठमाडौंमा आयोजित ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन’ लाई सम्बोधन गर्दै उनले नेपाली श्रमिकको ठाउँमा बंगाली, भारतीय, चिनियाँ आदि विदेशी कामदारहरूको वर्चस्व बढ्दो रहेको बताए।
गार्मेन्ट, सुनचाँदी र अन्य व्यवसायमा बाहिरी आवरणमा केही नेपाली देखिन्छन्, तर भित्र जानुभयो भने श्रम बजारमा पूर्णरूपमा विदेशीको बाहुल्यता छ,मन्त्री भण्डारीले भने, बंगाली मूलका झण्डै तीन लाख मान्छे यतिबेला सुनचाँदी व्यवसायमा छन्, गार्मेन्ट क्षेत्रमा समेत उनीहरूको वर्चस्व छ। यस्तो अवस्थामा नेपालका युवाले विदेश ताक्नु परेको विडम्बना छ।”
उनले थपे, नेपालको श्रम बजारमा विदेशी कामदारको नियन्त्रण छ, भने हामी भने मध्यपूर्व र मलेसिया जाने बाटो खोजिरहेका छौं। मन्त्री भण्डारीका अनुसार यस प्रवृत्तिले देशभित्रको रोजगारी अवसरको मूल्याङ्कनमै प्रश्न उठाएको छ।
हालका दिनमा सरकारी निकाय र स्थानीय तहहरूले सिप विकास तालिमहरू व्यापक रूपमा सञ्चालन गरे पनि त्यसको अन्तर्राष्ट्रियस्तरमा मान्यता नपुगेको उनको गुनासो थियो। उनले भने, “सर्टिफिकेट बाँड्ने होड चलेको छ, तर त्यो सर्टिफिकेटको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा के मूल्य छ? हामी सिप दिन सक्ने देश त भयौं, तर रोजगारी दिन नसक्ने व्यवस्था भित्र्यायौं।
मन्त्री भण्डारीले सिटिइभिटी (CTEVT) जस्ता संस्थाले दिने सर्टिफिकेटहरूलाई अन्तर्राष्ट्रिय मान्यताको स्तरमा पुर्याउने आवश्यकता औंल्याए। साथै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयबीच सशक्त समन्वय आवश्यक रहेकोमा पनि जोड दिए।
हामी सिप विकासमै अल्झिरह्यौं, श्रम बजारको व्यवस्थापन र संरक्षणमा राज्य गम्भीर छैन। अब यो प्रवृत्ति अन्त्य गर्न नीति, कानुन र संरचनागत परिवर्तन अपरिहार्य भएको छ